काठमाडौं—कलेजो प्रत्यारोपण सर्जन डा. एकानन्द सिंह पुरस्कृत भएका छन् । उनलाई ग्यास्ट्रोइन्टेस्टाइन सर्जनहरुको विश्वव्यापी संस्था द सोसाइटी फर सर्जरी अफ द एलिमेन्ट्री ट्रयाक (एसएसएटी)ले कम र मध्य आए भएका देशहरुबाट वर्षेनी एक जना सर्जनलाई दिने सम्मानबाट डा. सिंह सम्मानित भएका हुन् ।
‘सन् २०२३ का लागि म चयन भएको छु,’ डा. सिंहले हेल्थआवाजसँग भने, ‘एसएसएटीले मलाई ८ हजार अमेरिकी डलर दिनुका साथसाथै यस वर्षको मे महिनामा जीआई सर्जनहरुबीच अमेरिकाको वासिंगटनमा हुने अन्तक्रियाका लागि आमन्त्रण गरेको छ ।’
डा. सिंह कम र मध्यम आय भएका देशहरुबाट जीआई सर्जनहरुको प्रतिनिधित्व गर्दै अमेरिकामा उक्त वार्षिक अन्तक्रिया बैठकमा सहभागी हुनेछन् । त्यहाँ उनले संसारकै उत्कृष्टमध्येमा पर्ने मेयो क्लिनिक, क्लिभल्याण्ड क्लिनिक भ्रमण गरी उक्त क्लिनिक भ्रमण गरी ती अस्पतालमा जीआई सर्जरी सम्बन्धी नयाँ सीप र सर्जिकल गुणस्तरहरुको अध्ययन गर्नेछन् ।
‘त्यो मेरा लागि जीआई सर्जरीका विभिन्न पक्षहरुको बारेमा जान्ने मौका हुनेछ,’ उनले भने, ‘नेपालमा जीआई शल्यक्रिया विकासका लागि यो एउटा राम्रो अवसर हो ।’
डा. सिंह अहिले किष्ट मेडिकल कलेज, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र काठमाडौंमा जनरल तथा हेपाटो—बिलियरी सर्जनको रुपमा कार्यरत छन् । नेपालमा कलेजो प्रत्यारोपण सर्जरीमा पनि उनको योगदान छ । उनको समूहले नेपालमा उपत्यका बाहिर पहिलो पटक चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गरेको थियो भने किष्ट मेडिकल कलेजमा पनि प्रत्यारोपण सुरु गरेका हुन् ।
डा. सिंह हेपाटो बिलियरी सर्जरीमा पिएचडी गर्ने पहिलो नेपाली हुन् ।