काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको दबाबमा वीर अस्पतालमा कानुन विपरित करार कर्मचारी भर्ना गरिएको पाइएको छ । हेल्थआवाजलाई प्राप्त विवरणअनुसार मन्त्री बस्नेतको रुचिका मान्छेलाई भर्ति गर्न ‘चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधी, २०७६’ प्रतिकूल हुने गरी करारका कर्मचारी भर्ना गरिएको हो ।
१० कात्तिकमा वीर अस्पतालले सार्वजनिक सूचना जारी गरेर सातौं तहको १ जना मेडिकल ल्याब टेक्नीसियन, पाँचौ तहको ल्याब टेक्नीसियन ५ जना, इलेक्टीसियन चौथो तहको २ जना, पलम्बर चौथो तहको १ जना, चौथो तहको लिफ्ट असिस्टेन्ट ४ जना गरी १३ जना जनशक्ति करारमा माग गरेको थियो । त्यसको एक सातापछि नै १७ कात्तिकमा वीर अस्पतालले त्यो जनशक्ति गुपचुप रुपमा पदपूर्ति ग¥यो ।
जबकी, ‘चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधी, २०७६’ मा करारमा जनशक्ति पदपूर्ति गर्दा न्यूनतम २१ दिनको सूचना प्रकाशन गरी इच्छुक उम्मेदवारबाट दरखास्त आव्हान गर्नुपर्ने व्यवस्था छ । मन्त्री बस्नेतको जोडबलमा उनी निकटकालाई भर्ति गर्नका लागि कार्यविधीमा रहेको यो व्यवस्थालाई लत्याइयो । ‘तीन हप्ताको विज्ञापन गरिएन,’ वीर अस्पताल निकट स्रोत भन्छ, ‘गुपचुप रुपमा काम गरेर मन्त्रीका मान्छे भर्ति गर्न कानुनी प्रबन्धको नै खिल्ली उडाइयो ।’
अझ रोचक त के छ भने करारमा उक्त जनशक्ति पदपूर्ति गर्दा न फर्म भराइयो न त शुल्क लिएर राजस्व नै दाखिला गरियो । करार सेवा व्यवस्थापन सम्बन्धि कार्यविधीमा ‘करार सेवाका लागि दरखास्त पेश गर्ने व्यक्तिले सहायक स्तरको पदको हकमा ६ सय रुपैयाँ र अधिकृतस्तरको हकमा १ हजार रुपैयाँ दरखास्त दस्तुर बुझाउनुपर्ने’ उल्लेख छ । स्वास्थ्य मन्त्रीका मान्छे करारमा भर्ना गर्नका लागि वीरको पदपूर्ति समितिले यी दुवै प्रक्रियालाई पनि वाइपास गरेको स्रोतको दावी छ ।
हेल्थआवाजलाई प्राप्त विवरणहरुमा मन्त्री बस्नेतको मान्छेहरु भर्ना गर्न बनाइएको करार कर्मचारी छनोट समितिमा डा. श्रवण थापा संयोजक थिए । डा. थापासँग करार सेवा व्यवस्थापन कार्यविधी पालना गरेर १० गते विज्ञापन गरेर १७ गते भर्ना लिइए छ नि भनेर हेल्थआवाजले राखेको जिज्ञासा आफूहरुले पहिल्यै नै विज्ञापन गरेर उक्त प्रक्रिया पूरा गरेको दावी गरे । ‘हामीले पहिल्यै नै विज्ञापन गरेका थियौं,’ उनले भने ।
एकातिर कानुनी प्रक्रिया पूरा गरिएको छैन भने अर्को तिर डा. थापाको संयोजकत्वको छनोट समिति १३ जनामध्ये तीन जना मात्रै मन्त्री बस्नेतको जिल्ला बाहिरका व्यक्तिलाई करार सेवामा भर्ना गरेको छ । १० जिल्ला बाहिरका पनि मन्त्री निकटकै रहेको स्रोतको दावी छ ।
मन्त्री बस्नेतको रुचिमा चौथो तहको लिफ्ट असिस्टेन्टमा बाह्रबिसे सिन्धुपाल्चोकका दिपेन्द्र बस्नेत, सन्तोष बस्नेत, पाँचपोखरी थाङपाल सिन्धुपाल्चोककी विमला अधिकारी, लिसंखु पाखर सिन्धुपाल्चोककी अन्जली तामाङलाई छनोट गरेका छ । यसैगरी, चौथो तह इलेक्ट्रीसियनमा मेलम्ची सिन्धुपाल्चोकका अरुण सापकोटा र सन्तोष दाहाल, पाँचौ तहको ल्याब टेक्नीसियनमा मेलम्ची सिन्धुपाल्चोकका रस्मीता मिश्र, रुद्रमती सिन्धुपाल्चोकका प्रमिला आचार्य, बाह्रबिसे सिन्धुपाल्चोकका सन्तोष राउत छानिएका छन् । यसैगरी, सातौ तहको मेडिकल ल्याब टेक्नीसियनमा बाह्रबिसे सिन्धुपाल्चोककै स्मीता थापालाई छनोट गरिएको छ ।
१२ जना जनशक्तिमध्ये तीन जनामात्रै सिन्धुपाल्चोक बाहिरकालाई करार सेवामा अवसर दिइएको छ । जसमा पाँचौ तह ल्याब टेक्नीसियनमा दुधौली सिन्धुलीकी प्रमिला श्रेष्ठ, पाँचौ तहकै ल्याब टेक्नीसियनमा कालिका रसुवाकी स्मृति देवकोटा र पाँचौ तह पलम्बर पदमा बनेका काभ्रेका सुरेन्द्र दंगाल करार सेवाबाट वीरमा भर्ति भएका छन् । उनीहरु पनि स्वास्थ्यमन्त्री बस्नेत निकटकै रहेको वीर स्रोत बताउँछ ।
वीरमा ‘चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधी, २०७६’ विपरित लिइएको भर्नाका सम्बन्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो । त्यसपछि अख्तियार उक्त करार भर्ना रोक्न भन्दैं गरेको पत्राचारलाई समेत बेवास्ता गर्दै कर्मचारी भर्ना गरिएको हो । अहिले करारमा भर्ना गरिएका १३ जना कर्मचारीले वीरमा काम समेत सुरु गरिसकेका छन् ।