काठमाडौं—अन्तर्राष्ट्रिय विज्ञान परिषद्को सय जना फेलोहरूमा नेपालबाट वातावरणीय स्वास्थ्य वैज्ञानिक डा. मेघनाथ धिमाल नियुक्त भएका छन् । मंगलबार इन्टरनेशनल साइन्स काउन्सिल (आईएससी)ले संसारभरबाट सय जना वैज्ञानिकलाई छनोट गर्दा नेपालबाट डा. धिमाल नियुक्त भएका हुन् ।
साइन्स काउन्सिलले विज्ञानलाई विश्वव्यापी सार्वजनिक हितको रुपमा प्रवर्द्धन गर्न उत्कृष्ट योगदान गरेको आधारमा डा. धिमालसहितका वैज्ञानिकहरूलाई फेलोको रुपमा छनोट गरेको हो ।
आईएससी फेलो विज्ञान परिषद्को सर्वोच्च पद हो । छनोट भएका फेलोहरुमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरू रहेका छन् । जसमा सामाजिक र प्राकृतिक वैज्ञानिकहरू, इन्जिनियरहरूलगायत विज्ञानमार्फत समाजमा महत्वपूर्ण योगदान गरेका छन् ।
दिगो विकासको लक्ष्य हासिल गर्न विश्व धेरै खालको खतराबाट गुज्रिरहेको सन्दर्भमा यी वैज्ञानिकहरूले लक्ष्य प्राप्तिका लागि योगदान गर्ने आईएससीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा प्रमुख अनुसन्धान अधिकृतका रूपमा काम गरेका वैज्ञानिक धिमाल नेपालका सबैभन्दा बढी साइटेसन भएका वैज्ञानिकमा पर्छन् । उनी र उनी सामेल भएका वैज्ञानिक आलेखहरू धेरै नै साइटेसन पाएका छन् । यतिसम्म नेपालमा अध्यायपन गराउने विश्वविद्यालयका प्राध्यापकहरूकोभन्दा बढी साइटेसन उनी सहभागी भएका वैज्ञानिक आलेखहरू छन् । उनका साइटेसन ४० हजारभन्दा बढी छ ।
वातावरण स्वास्थ्यमा काम गरिरहेका धिमालको प्राथमिक क्षेत्र जलवायु परिवर्तन र वातावरणीय स्वास्थ्यमा रहेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सह—प्राज्ञ समेत रहेका धिमाल त्रिभुवन विश्वविद्यालयको वातावरणीय स्वास्थ्यको भिजिटिङ फ्याकल्टीमा कार्यरत छन् । उनले नेपालमा वातावरणीय र जलवायु परिवर्तन, नसर्ने रोग, उपेक्षित उष्णकिट रोग, स्वास्थ्य प्रणालीलगायतका धेरै अनुसन्धान परियोजनाहरूको नेतृत्व गरिसकेका छन् ।
जलवायु परिवर्तन र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदानको कदर गरेको भन्दा नास्टले उनलाई सन् २०१५ को उत्कृष्ट युवा वैज्ञानिक सम्मानबाट पुरस्कृत गरेको थियो । तीनसयभन्दा बढी प्राज्ञिक लेख तथा टेक्निकल रिपोर्टहरू तयार गरेका धिमालले सन् २०१५ मा जर्मनीको गोएथे विश्वविद्यालयबाट भू—विज्ञान (पर्यावरणीय स्वास्थ्य विज्ञान) मा पीएचडी पूरा गरेका थिए ।