काठमाडौं—वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाउने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्णयमा झट्का लागेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीसद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले डा. पौडेललाई हटाउने मन्त्रालयको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
५ फागुन २०७९ मा दुई वर्षका लागि वीरको निर्देशक नियुक्त भएका डा. पौडेललाई स्वास्थ्यमन्त्री बस्नेतले वीरको निर्देशकबाट १४ मंसिरमा हटाएका थिए । त्यसपछि १८ मंसिरमा उक्त निर्णय रद्ध माग गर्दै डा. पौडेल सर्वोच्च अदालत गएका थिए ।
२८ मंसिरमा पौडेलको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश दिएको थियो । उसले अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई झिकाएको थियो ।
सर्वोच्चले मंंगलबार डा. पौडेललाई पदबाट नहटाउन आदेश दिएसँगै उनलाई वीरको निर्देशकमा फर्किने बाटो खुला भएको छ ।
वीरको निर्देशकबाट हटाएर सुरुमा डा. पौडेललाई स्वास्थ्य मन्त्रालयमा तानिएको थियो । त्यसपछि राजनीतिक प्रतिशोधका आधारमा उनलाई दरबन्दी वीरमा भएपनि कान्तिमा लखेटिएको थियो ।