काठमाडौं—अष्ट्रेलियन नेप्लीज मेडिकल एण्ड डेन्टल एशोसिएसन (एन्म्डा)मा डा. महेश ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । १८ नोभेम्बरमा लन्चेष्टनमा भएको अधिवेशनले दुई वर्षका लागि डा. ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
१५ सदस्सीय नयाँ कार्यसमितिको उपाध्यक्षमा क्रमसः डा. सुजाता थपलिया र डा. मिलन पिया चयन भएका छन् । यसैगरी, महासचिवमा डा. सन्देश पन्त, कोषाध्यक्षमा डा. मिरेन्द्र शाक्य तथा सहसचिवमा डा. अमृत पोखरेल निर्वाचित भए ।
अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा डा. पवन प्याकुरेल, नर्दन टेरिटोरीमा डा. ऋतेष भण्डारी, क्वीन्सल्याण्ड डा. अतुल धिताल, साउथ अष्ट्रेलियामा डा. अर्जुन बुर्लाकोटी संयोजक चयन भएका छन् । यसैगरी, तास्मानियामा डा. निरज उप्रेती, भिक्टोरियामा डा. विकास अवाले, वेस्टर्न अष्ट्रेलियामा डा. नवीन दंगाल र न्युजिल्याण्डमा डा. निरञ्जन शर्मा संयोजक चुनिएका छन् । एनएसडब्लूयुको संयोजक भने पछि चयन हुने नवनिर्वाचित अध्यक्ष डा. ढकालले जानकारी दिए ।
डा. ढकाल यसअघिको कार्यकालमा तास्मानियाको संयोजकको भूमिका थिए । ‘अष्ट्रेलिया र न्युजिल्याण्डमा छरिएर रहेका चिकित्सकहरुलाई एशोसिएसनको छातामुनि ल्याउने मेरो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘जुनियर डाक्टरमुखी कार्यक्रमहरु पनि अगाडि बढाउँछौं ।’ संस्थाले सीएमई, वेविनारजस्ता कार्यक्रमहरु गर्दै आएको छ ।
अधिवेशनमा ३६ जनाभन्दा बढी नेपाली चिकित्सकहरु सहभागी थिए । डा. ढकालकाअनुसार अष्ट्रेलियामा नेपाली चिकित्सकहरुको एकिन तथ्यांक नभएपनि झण्डै ४०० देखि ५०० हाराहारीमा हुन सक्ने आँकलन छ ।