काठमाडौं—रूवाण्डा सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी प्रज्वलजंग पाण्डेलाई नियुक्त गरेको छ । नेपाल औषधी उत्पादक संघ (एपोन)का निवर्तमान अध्यक्ष पाण्डेलाई रूवाण्डा सरकारले आफ्नो वाणिज्यदूतमा नियुक्त गरेको हो ।
सोमबार नवनियुक्त वाणिज्यदूत पाण्डेलाई परराष्ट्रमन्त्री एनपी साउँदले प्रमाणपत्र दिँदै नेपालका लागि रूवाण्डाको वाणिज्यदूतको आधिकारिकता प्रदान गरेका हुन ।
वाणिज्यदूतमा पाण्डेको नियुक्तिसँगै द्विपक्षीय सहायता तथा सहयोगमा नेपालले काम गर्ने भएको छ । जसमा व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा द्विपक्षीय रूपमा विशेष सुविधाको उपयोग गर्न पाइने नवनियुक्त वाणिज्यदूत पाण्डेले जानकारी दिए ।
साथै, आगामी दिनमा रूवाण्डा र नेपालबीच भाइचारा सम्बन्ध विस्तार गर्दै देशमा वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने बताए । ‘रूवाण्डाले भर्खरै मात्र नेपालमा आफ्नो वाणिज्यदूत नियुक्त गरेको छ,’ नवनियुक्त वाणिज्यदूत पाण्डेले भने, ‘यसले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्नेछ ।’
कार्यक्रममा परराष्ट्र मन्त्री साउँदले पाण्डेको नियुक्तिसँगै नेपाल र रुवान्डाबीच दुई देशीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास सरकारले लिएको उनले बताए ।