पोखरा– क्यान्सरका बिरामीलाई पृथ्वी राजमार्गका बसमा देशभर निःशुल्क सेवा दिइने भएको छ । अर्बुद रोग निवारण संस्था र पृथ्वी राजमार्ग सञ्चालक कम्पनीबिच क्यान्सर पीडित बिरामी र १ जना बिरामीका सहयोगीलाई पृथ्वी राजमार्ग बस सञ्चालक समितिका बसमा निःशुल्क सेवा दिनेबारे बिहीबार सम्झौता भएको छ । पोखरामा भएको एक कार्यक्रमबिच अर्बुद रोग निवारण संस्थाका सभापति प्रेमबहादुर भुजेल र पृथ्वी राजमार्गका योगेन्द्र केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
विगत ३ वर्ष देखि अनौपचारिक हिसाबले अर्बुद रोग निवारण संस्थाको आग्रहमा क्यान्सर बिरामीलाई बस सञ्चालक समितिले निःशुल्क सेवा दिने निर्णय गरेको थियो ।
सम्झौता अनुसार अर्बुद रोग निवारण संस्थाले बिरामी र बिरामीका कुरुवाका लागि परिचय पत्र बनाइदिने छ । सोही परिचय पत्रका आधारमा बस सञ्चालकले सुविधा दिने अर्बुद रोग निवारण संस्थाका सभापति प्रेमबहादुर भुजेलले जानकारी दिए । उनले भने, ‘हामीले क्यान्सरका बिरामी र १ जना उनका सहयोगीलाई परिचयपत्र बनाइदिन्छौँ । त्यो परिचयपत्र ६/६ महिनामा नवीकरण गर्नुपर्छ । दुरुपयोग नहोस् भन्ने हिसाबले नवीकरणको व्यवस्था गरेका हौँ । यसबापत अर्बुद रोग निवारण संस्थाले पृथ्वी बस सञ्चालकलाई कुनै भुक्तानी गर्नुपर्दैन ।’
अर्बुद रोग निवारण संस्थाका आजीवन सदस्यले यात्रा गर्दा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । अर्बुद रोग निवारण संस्थाले पृथ्वी राजमार्ग बस सञ्चालक समितिमा आबद्ध महिलालाई प्रत्येक २/२ वर्षमा भनिआइए स्क्रीनिङ तथा बिएसइ सेवा दिनेछ ।
क्यान्सर जाँचका लागि काठमाडौं, झापा, भक्तपुर, भरतपुर आउजाउ गर्नुपर्ने हुन्छ, २/२ जनाको यात्रामा थुप्रै खर्च पनि हुन्छ, त्यसका लागि यो सम्झौता गरिएको सभापति भुजेलले बताए । नाटा गण्डकीले पनि २ जना क्यान्सरका बिरामीलाई निःशुल्क यात्रा गराउने सम्झौता २०७७ सालमा नै गरिएको भुजेल बताउँछन् ।
अर्बुद रोग निवारण संस्थाले ३०/३५ जनाको निवेदन परेपछि संस्थामा नै पाठेघरको क्यान्सर जाँच नियमित शिविर सञ्चालन गर्दै आएको छ । पोखरा महानगर स्वास्थ्य महाशाखाको समन्वय र क्षेत्रीय अस्पतालका विशेषज्ञ डाक्टरको सहयोगमा जाँच हुने गरेको छ । २०४२ सालमा स्थापित संस्थाले क्यान्सरविरुद्ध सचेतना तथा उपचारमा योगदान गरिरहेको छ । अर्बुद रोग निवारण संस्थाको पहलमा ५/६ हजारले सेवा लिएको सभापति भुजेल बताउँछन् । उनले भने,‘हाम्रो उद्देश्य क्यान्सरका बिरामी पहिचान गर्ने र उपचारमा सघाउने हो । विपन्नहरूलाई त आर्थिक सहयोग पनि गर्ने गरेको छ ।’