२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेङ्गी नियन्त्रणका लागि काठमाडौं महानगरले थप्यो एक सय जना कर्मचारी

डेङ्गी नियन्त्रणका लागि काठमाडौं महानगरले थप्यो एक सय जना कर्मचारी


काठमाडौं– डेङ्गी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकामा एक सय जना सरसफाइमा खटाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ सय जनालाई काठमाडौँ महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि लार्भिसाइट छर्किने र सडकको विशेष सरसफाइमा खटाएको हो ।

आज राष्ट्रिय सभा गृहमा बोलाएर उनीहरूले गर्नु पर्ने कामका विषयमा जानकारी गराएर क्षेत्र बाँडफाँड गरिएको छ । यसरी परिचालन भएका जनशक्ति थप हुन् । वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले परिचालन गरेका आफू मातहतका कर्मचारीहरूले नियमित काम गरिरहनेछन् ।

जनशक्तिलाई ४ समूहमा बाँडेर ४ क्षेत्रमा परिचालन गरिनेछ । हरेक समूहमा एक/एक नाइकेले नेतृत्व गर्नेछन् । आज टोलीले नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल र बौद्ध क्षेत्रमा लार्भिसाइट छर्ने र सफाइ गर्नेछन् ।

जनशक्तिलाई कामका बारेमा जानकारी गराउँदै प्रशासन विभागका प्रमुख दीपक अधिकारीले, परिचालित जनशक्तिबाट सुग्घर सडक अपेक्षा गरिएको नतिजा भएको बताए । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भोलिदेखि टेकुमा भेला गरेर फरक फरक दिनमा फरक फरक ठाउँको सरसफाइमा खटाइने जानकारी दिए ।

सफाइका क्रममा पानी जमेका खाल्टा देखिए खाल्टा पुर्ने, कुनै भाँडामा पानी देखिए पोख्ने, लामखुट्टेका लार्भा भएका ठाउँमा लार्भिसाइट छर्ने काम गर्नु पर्ने स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले कामको विवरण उल्लेख गरे ।

वातावरण व्यवस्थापन विभागकाअनुसार पर्वलक्षित सफाइ सडक केन्द्रीत हुनेछ । झार उखेल्ने, नाली सफा गर्ने, पखाल्ने, टिपनटापन गर्ने सफाइका मुख्य क्रियाकलाप हुन् । यस क्रममा ब्रमुर, जेट मेसिनसहितका उपकरण परिचालन हुनेछन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक रश्मी राईकाअनुसार, जनशक्तिले हाजिर भएर एक दिनमा ८ घण्टा काम गर्नुपर्नेछ । यसबापत उनीहरूले दैनिक ६६८ रुपैयाँ पारिश्रमिक पाउँछन् । उनीहरूका लागि १ सय दिनको काम सुनिश्चित गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ