२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमानसिक समस्याबाट मुक्त हुन जनताको पहुँचमा गुणस्तरीय सेवा पुग्नुपर्छ- स्वास्थ्यमन्त्री बस्नेत

मानसिक समस्याबाट मुक्त हुन जनताको पहुँचमा गुणस्तरीय सेवा पुग्नुपर्छ- स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौं–  आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अक्टोबर १० मा यो दिवस मनाउने गरिन्छ । यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

विश्व मानसिक स्वास्थ्य दिवस’का अवसरमा शुभकामना मन्तव्य राख्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक स्वास्थ्यका समस्याहरूबाट सबै नागरिकहरूलाई जोगाउनुपर्ने बताएका छन् । मानसिक समस्या मुक्त गराउन मानसिक स्वास्थ्यलाई मानव अधिकारको रुपमा प्रवर्द्धन गरी जनताको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने उनले बताए ।

नेपालीहरूलाई लाग्ने रोगहरूमध्ये १८ प्रतिशत मानसिक रोगको सिकार बन्ने गरेको स्वास्थ्यमन्त्री बस्नेतले बताए । पछिल्लो अध्ययन अनुसार नेपालमा १८ वर्ष माथिका व्यक्तिहरूमध्ये १० प्रतिशतलाई मानसिक स्वास्थ्यमा समस्या देखिएको छ । यस समस्याबाट प्रभावित किशोर किशोरी र युवाहरूको सङ्ख्या पनि सँगसँगै बढिरहेको उनले बताए ।

स्वस्थ व्यक्तिको तुलनामा मानसिक समस्या भएका व्यक्तिहरूको १०/२० वर्ष अगावै मृत्यु हुने तथ्याङ्कले देखाएको छ । मानसिक रुपमा स्वस्थ रहन सन्तुलित आहार विहारमा ध्यान दिने, नियमित रुपमा व्यायम गर्ने, सामाजिक रुपमा सक्रिय रहने, धूम्रपान तथा मद्यपान नगर्ने , पर्याप्त मात्रामा सुत्ने जस्ता जीवनशैली अपनाउन समेत स्वास्थ्य मन्त्री बस्नेतले आग्रह गरे ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ