पोखरा—धौलागिरी अस्पताल पुग्ने बिरामीले अब सिटीस्क्यान सेवाका लागि अन्य अस्पताल धाउनुपर्ने बाध्यता हटेको छ । शुक्रबारबाट अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविरञ्जन प्रधानले जानकारी दिए ।
अस्पतालले ग्लोबल टेन्डरमार्फत खरिद गरेको मेसिन अस्पतालमा साउनमा आइपुगेको भएपनि इन्स्टलेसनमा लाग्ने समयका कारण शुक्रबारदेखिमात्रै सेवा सुचारु भएको हो । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले सिटीस्क्यान सेवा शुभारम्भ गरेकी हुन् ।
सिटी स्क्यानका लागि बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वतका गरी दैनिक ३ जना हाराहारीमा आउने बिरामी रिफर गर्नुपर्ने अवस्था थियो । डा. प्रधानका अनुसार अब रिफर गर्नुपर्ने छैन भने आवश्यकताका आधारमा सबैले सेवा लिन पाउनेछन् । न्यू सफ्ट कम्पनीको उक्त सिटीस्क्यान मेसिन दुई वर्ष कम्पनी वारेन्टी रहेको उनको भनाइ छ ।
धौलागिरी अस्पताललाई स्तरोन्नती गरी गण्डकी प्रदेश सरकारले २ सय शैय्याको उपप्रादेशिक अस्पताल बनाउने योजनाअन्तर्गत उपकरण थप गर्न आर्थिक वर्ष २०७९÷८० मा १० करोड बजेट विनियोजन गरेको थियो ।
गण्डकीको उपप्रादेशिक अस्पताल बनाउने योजनामा रहेको अस्पतालमा सिटी स्क्यान सेवापछि विशिष्टीकृत सेवा दिन सकिने अस्पतालले जनाएको छ । अस्पतालमा बालरोग, हाडजोर्र्नी, स्त्रीरोग, छाला, नाक, कान, घाँटी, रेडियोलोजी, ल्याप्रोस्कोपी शल्यक्रियालगायत विशिष्टीकृत सेवा दिन १८ विशेषज्ञ चिकित्सक रहेका छन् । अस्पतालले दैनिक ५ सय हाराहारीमा ओपिडी बिरामीलाई सेवा दिने गरेको छ ।
सिटी स्क्यान मेसिन सञ्चालनका लागि १ जना रेडियोलोजिस्ट,२ जना रेडियोग्राफर र १ जना कार्यालय सहयोगी रहेको डा. प्रधानले जानकारी दिए । अस्पतालले ५० शैय्या स्वीकृत भएपनि आन्तरिक स्रोत व्यवस्थापन गरी १ सय २० शैय्याको सेवा दिइरहेको डा. प्रधानले जानकारी दिए । अस्पताललाई २ सय शैय्यामा स्तरोन्नती गर्न अध्ययन सुरु भएको उनको भनाइ छ ।
अस्पतालले हाल ४ शैय्या आईसीयु र ४ शैय्या एसआईसीयुबाट सेवा दिइरहेको छ । अस्पतालको आफ्नै फार्मेसीबाट औषधी खरिद गर्ने सेवा पनि दिएको छ । अस्पतालमा ५ मेसिनबाट डायलाइसिस सेवा दिइरहेको अस्पतालले मासिक ४० जनालाई यो सेवा दिँदै आएको डा. प्रधानले बताए ।