२०८१ मंसीर १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बिमामा आवद्ध परिवारको संख्या ५० प्रतिशत पुर्‍याइने

स्वास्थ्य बिमामा आवद्ध परिवारको संख्या ५० प्रतिशत पुर्‍याइने


काठमाडौं– स्वास्थ्य बिमा वोर्डले चालु आर्थिक वर्ष २०८०/०८१ मा बिमामा आवद्ध परिवारको संख्या ५० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी सञ्चारकर्मीसमक्ष वोर्डले चालु वर्षमा प्रथामिकतामा रहेका कामहरुको उल्लेख गर्दै सो जानकारी दिएको हो ।

स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन यसै वर्ष प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी स्थानीय स्वास्थ्य बिमा संयोजन समितिलाई थप प्रभाकारी बनाइने वोर्डले जनाएको छ ।

हाल स्वास्थ्य बिमामा ३१.४ प्रतिशत घरपरिवार आवद्ध रहेको र चालु आर्थिक वर्षमा यसलाई बढाएर ५० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको स्वास्थ्य बिमा वोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी दिए ।  उनका अनुसार वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवार र संगठित क्षेत्रलाई पनि यसै वर्ष स्वास्थ्य बिमामा आबद्ध गर्न सम्बन्धित पक्षसँग समन्वय गरिने भएको छ ।

हालको स्वास्थ्य बिमा कार्यक्रमलाई सामाजिक सुरक्षाको सिद्धान्त अनुसार सञ्चालन गर्न ऐन एवं नियमावलीमा उल्लेख भएअनुसार औपचारिक क्षेत्रमा कार्यरत सबै कर्मचारीहरूलाई आवद्ध गर्न अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विशेष पहल गरी कार्यान्वयनमा ल्याइने वोर्डका कार्यकारी निर्देशक बसौलाले बताए ।

बिमा अन्तर्गतका सेवा सुविधालाई परिमार्जन गरी नयाँ सुविधा थैली ल्याउने तयारी गरेकोसमेत उनले जानकारी दिए ।

स्वास्थ्य बिमा ऐन, २०७४, स्वास्थ्य बिमा नियमावली, २०७५ र यससँग सम्बन्धित कार्यविधि, निर्देशिका र मापदण्डहरू आवश्यकताका आधारमा संशोधन गर्ने तयारी पनि वोर्डले गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज र निजी अस्पतालहरू गरी हाल देशभरका ४४० वटा सेवा प्रदायक संस्थाहरुबाट स्वास्थ्य बिमा सेवा प्रवाह भैरहेको छ । सरकारले केही समयअघि मात्रै २६ वटा सेवा प्रदायकलाई सूचीबाट हटाएको थियो ।

वि.सं. २०८० असोज ४ सम्मको तथ्यांकमा २२ लाख १६ हजार ६५९ (३३.२५ प्रतिशत) परिवारका ७१ लाख ८१ हजार ३२५ (२४.६२ प्रतिशत) जना नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । कुल आवद्ध बिमितमध्ये ५० लाख २६ हजार ९२७ जना नवीकरण (७० प्रतिशत) गरेको पाइन्छ भने कूल ३२ लाख ३१ हजार ५९६ जनाले सेवा सेवा उपभोग (४५.० प्रतिशत) गरेको वोर्डले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ