काठमाडौं—चिकित्सकहरुले सरकारले आफूहरुको सुरक्षाको प्रत्याभूति गराउन नसकेको भन्दै गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । बुधबार चिकित्सकमाथि भएका आक्रमणका घटना विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गर्दै चिकित्सकहरुले गृहमन्त्री नाराणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेका हुन् ।
पछिल्लो केही दिनयता देशभर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढेपछि चिकित्सकहरुले गृहमन्त्री श्रेष्ठ र स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा माग गरेका हुन् । उनीहरुले देशका विभिन्न ठाउँमा पटक—पटक चिकित्सकमाथि सांघातिक आक्रमणका घटना दोहोरिदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दैं राजीनामाको माग गरेका हुन् ।
आन्दोलनरत डाक्टरहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन पहिलो संशोधन, २०७९ अविलम्ब कार्यन्वयन गर्नुपर्ने माग गरेका छन् । उनीहरुले मण्डलामा ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’, ‘कामेको हातले उपचार सम्भव छैन’, ‘असुरक्षा र त्रासमा कसरी उपचार गर्ने’, ‘गृहमन्त्री राजीनामा दे’, ‘स्वास्थ्यमन्त्री राजीनामा दे’ भन्ने नारा लगाइरहेका छन् ।
डाक्टरमाथि आक्रमण गर्ने व्यक्तिलाई तुरुन्त कारबाही नगर्दा पछिल्लो समय दैनिक यस्ता घटनाहरु बढ्दै गएको आन्दोलनरत डा. शेषराज घिमिरेले बताए । ‘चिकित्सकमाथि हातपात र नराम्रो व्यवहार हुनासाथ राज्यको सुरक्षा निकायले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको भए यो घटना मौलाउने थिएन, यसमा राज्यकै कमजोरी छ,’ उनले भने ।
आन्दोलनमा नेपाल चिकित्सक संघका पदाधिकारीलगायतका विभिन्न चिकित्सक संघ सम्बन्धित पेशागत संगठनमा आवद्ध चिकित्सक र विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु छन् । हेटौडा, मोरङ, लमजुङ र पोखरामा चिकित्सकहरुमाथि श्रृंखलावद्ध आक्रमणका घटना भएपछि उनीहरु आन्दोलित बनेका हुन् ।