धनगढी—डडेल्धुरा मेडिकल कलेजले कक्षा सञ्चालनको लागि स्वीकृती पाएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृती दिदैं सिट पनि छुट्याएको छ ।
डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाका अनुसार आयोगले ‘ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी’को कक्षा सञ्चालनको अनुमति दिएको हो । त्यसका लागि आयोगले १० सिट निर्धारण गरेको ओझाले बताए ।
आयोगले १८ कात्तिकमा लिने इन्ट्रान्स र त्यसपछि विद्यार्थी पठाउने जानकारी प्राप्त भएको ओझाले जानकारी दिए । माघदेखि कक्षा सञ्चालनको तयारी रहेको छ । आयोगले यसअघि डडेल्धुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमन गरेको थियो ।
सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार डडेल्धुरा मेडिकल कलेजमार्फत पाँच वटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएको थियो । ‘ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौं,’ डडेल्धुरा मेडिकल कलेजका डिन हेमनाथ जोशीले भने, ‘ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको थियो । पाउनुपर्ने तीन वटा थियो तर अहिले एउटा पाइएको छ। यो पनि उपलब्धि हो ।’
मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसैगरी, डडेल्धुरा अस्पतालको नाममा २ सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डिनको कार्यालय स्थापना गरिसकेको छ । भौतिक संरचना निर्माणका लागि डिपिआर निर्माणको काम पनि भइरहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।