काठमाडौं– पछिल्लो समय नेपालका १० जिल्लामा डेंङ्गी संक्रमण तीव्र गतिमा बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शनिबारसम्म देशभर कुल संक्रमित २८ हजार ८०३ पुगेका छन् ।
सुनसरी जिल्ला सबैभन्दा बढी प्रभावित भएको महाशाखाले जनाएको छ । त्यस लगत्तै धादिङ, मोरङ, झापा, काठमाडौं, संखुवासभा, धनकुटा, तनहुँ, कैलाली र धनुषा रहेका छन् । जसमध्ये सबैभन्दा बढी प्रभावित जिल्ला सुनसरीमा मात्रै १५ हजार ९७९ जना संक्रमित भएका छन् ।
त्यसैगरी ‘टप टेन’ मध्येको अर्को जिल्ला धादिङमा डेंङ्गी संक्रमितको संख्या तीन हजार ११ पुगेको छ भने, मोरङमा २ हजार २६४, झापामा १ हजार ८५३, काठमाडौंमा ५५० रहेका छन् ।
डेंङ्गीका मूख्य लक्षणहरू
उच्च ज्वरो आउनु ।
जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु ।
आँखाको गेडी दुख्नु ।
बेस्सरी टाउको दुख्नु ।
शरीरमा राता बिमिराहरू आउनु ।
वाकवाकी लाग्नु वा वान्ता हुनु ।
डेंङ्गी संक्रमण हुनबाट कसरी बच्ने ?
- एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
- आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने
- दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
- बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने ।
- पूरै शरिर ढाक्ने लुगा लगाउने ।
- पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
- काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
- घर/ विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क÷बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
- कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।