जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. सुवि बस्न्यातलाई मितेरी गंगादेवी शान्ति पुरस्कार प्रदान गरिएको छ । उनीसहित कालिकोटका हिक्मतबहादुर मल्ल र बझाङकी गंगुदेवी खडायतलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
बिहीबार विश्व शान्ति दिवसको अवसरमा एक औपचारिक कार्यक्रममार्फत उनीहरुलाई प्रमाण पत्र, दोसल्लासहित जनही नगद ६ हजार ६९३ रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो ।
कर्णाली जस्तो पिछडिएको क्षेत्रमा वि.सं. ०७३ सालदेखि डा. बस्न्यात स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आएकी छन् । कर्णालीका स्त्री तथा प्रसुति समस्या भएका बिरामीहरुलाई उनले लामो समयदेखि उपचार गर्दै आएकी छन् ।
यस्तै, कालिकोटका मल्ल वि.सं. २०७५ सालदेखि जिल्लामा भइरहने सामाजिक गतिविधिमा संलग्न हुँदै आएका छन् । उनले कोभिड—१९ महामारीका बेला १ हजारदेखि १२ सय जनाजति कोभिड—१९ संक्रमितका लागि ‘आपसमा युवा अभियान’ सञ्चालन गरेका थिए । यस्तै, उनले जातीय छुवाछुत निर्मूल पार्नका लागि सडक नाटकदेखि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
बझाङकी खडायतले जिल्लामा पहिलो पटक हलो जोतेकी थिइन् । उनी महिलाको हकहितको लागि आवाज उठाउने, समाजमा शान्ति स्थापना, महिला हिंसाविरुद्धको अभियानमा सक्रिय छन् ।