विराटनगर—क्यान्सर रोग रोकथाम तथा न्यूनीकरणका लागि २ दिने प्रिभेन्टीभ अंकोलोजी कार्यशाला भएको छ । नेप्लीज सोसाइटी फर प्राइमरी केयरको आयोजना तथा विराट क्यान्सर इन्स्टिच्युटको सहकार्यमा मोरङको बुढीगंगा–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यशाला सम्पन्न भएको हो ।
२९ र ३० भदौंमा भएको कार्यशालामा कोशी प्रदेशका क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरुको उपस्थिती रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलकी क्यान्सर रोग विशेषज्ञ अस्मिता रायमाझीले जानकारी दिए ।
कार्यशालामा क्यान्सर रोगले जटिल रूप लिनु अगाडि पत्ता लगाउन सके अधिकांश क्यान्सर पूर्ण रुपमा निको हुन सक्ने भएकोले क्यान्सर रोगको पहिचान गर्न आवश्यक रहेकोलगायतका विषयमा क्यान्सर रोग विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गरिएको छ ।
त्यसैगरी, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पाचन प्रणाली सम्बन्धी क्यान्सर तथा सूर्तीजन्य पदार्थको सेवनका रोकथाम विधि सम्बन्धीसमेत सहभागीहरुलाई तालिम गराइएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जनाएको छ ।
गएको ३ वर्षको अन्तरालमा ३६ हजार क्यान्सर रोगका नयाँ बिमारी थपिएको तथ्यांकमा कार्यशालामा प्रस्तुत गरिएको थियो । क्यान्सर रोकथाम तथा न्यूनीकरणका लागि २ दिने प्रिभेन्टीभ अंकोलोजी कार्यशाला ३० भदौं सम्पन्न भएको आयोजकले जनाएको छ ।