काठमाडौं—सरकार चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष नियुक्तिको अन्तिम कसरतमा रहेका बेला डा. गोविन्द केसीले विज्ञप्तिमार्फत आफूलाई राजनीति आवद्धता भएको व्यक्ति मान्य नहुने सन्देश प्रवाहित गरेका छन् । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षको टुंगो लगाउने निश्चितप्रायः भएपछि डा. केसीले आयोगको उपाध्यक्षका लागि राजनीतिक प्रभाव, दबाब, प्रलोभन वा स्वार्थको द्वन्द्वमा नपरी आयोगलाई स्वायत्त निकायका रुपमा नेतृत्व गर्न सक्ने व्यक्तिलाई छान्नुपर्ने बताएका छन् ।
आयोगको उपाध्यक्ष सिफारिस समितिले आयोगका वर्तमान उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, डा. अन्जनीकुमार झा र डा. प्रवीण मिश्रको नाम सिफारिस गरेको स्रोतलेको दावी छ । सिफारिसहरुको चर्चा र लबिइङ सम्बन्धि समाचारहरु मिडियामा आइरहेका बेला डा. केसीले चेतावनीयुक्त विज्ञप्ती सार्वजनिक गरेका हुन् ।
उनको यो विज्ञप्ति नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा केन्द्रीय सदस्यका उम्मेदवार डा. अन्जनीकुमार झा र डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीका केन्द्रीय अन्तरिम परिषद्का सदस्य डा. प्रवीण मिश्र लक्षित छ । घुमाउरो पारामा डा. केसीले आयोगको उपाध्यक्षमा डा. गिरीबाहेक अर्को विकल्प नभएको उल्लेख गरेका छन् ।
‘सिफारिस समितिले आयोगको उपाध्यक्षका लागि योग्य उम्मेदवारहरुकै नाम सिफारिस गरेको हाम्रो विश्वास छ,’ उनले भनेका छन्, ‘तर, सरकारले भने तीन जनामध्ये कुनै एकलाई छान्दा योग्यतम तथा कुनै पनि राजनीतिक प्रभाव, दबाब, प्रलोभन वा स्वास्र्थको द्वन्द्वमा नपरी आयोगलाई स्वायत्त निकायका रुपमा नेतृत्व गर्न सक्ने व्यक्ति छान्नुपर्छ ।’
डा. केसीको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यसका लागि चिकित्सा शिक्षा क्षेत्रमा कार्यकुशलता प्रमाणित गरेको तथा कुनै पनि स्वार्थ समूहसित सम्बन्ध नभएको, विगतमा कुनै अनियमिततामा नमुछिएको छान्नुपर्ने हुन्छ । त्यसो नभएमा चिकित्सा शिक्षा आयोगले गत चार वर्षमा स्थापित गरेको साख तथा संस्थागत गरेको सुधार जोखिममा पर्ने हुन्छ ।’
प्रेस विज्ञप्ति
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि हाल चिकित्सा शिक्षा ऐनबमोजिमको प्रक्रिया चलिरहेको छ । त्यसै क्रममा अहिलेसम्म सिफारिस समितिले तीन जना व्यक्तिको नाम सिफारिस गरिसकेको हुनुपर्छ ।
समितिले आयोगको उपाध्यक्ष पदका लागि योग्य उम्मेदवारहरुकै नाम सिफारिस गरेको हाम्रो विश्वास छ । तर सरकारले भने तीन जनामध्ये कुनै एकलाई छान्दा योग्यतम तथा कुनै राजनीतिक प्रभाव, दबाब, प्रलोभन वा स्वार्थको द्वन्द्वमा नपरी आयोगलाई स्वायत्त निकायका रुपमा नेतृत्व गर्न सक्ने व्यक्तिलाई नै छान्नुपर्ने हुन्छ ।
त्यसका लागि चिकित्सा शिक्षाका क्षेत्रमा कार्यकुशलता प्रमाणित गरेको तथा कुनै पनि स्वार्थ समुहसित कुनै सम्बन्ध नभएको विगतमा कुनै अनियमिततामा नमुछिएको व्यक्तिलाई छान्नुपर्ने हुन्छ । त्यसो नभएमा चिकित्सा शिक्षा आयोगले गत चार वर्षमा स्थापित गरेको साख तथा संस्थागत गरेको सुधार जोखिममा पर्ने हुन्छ । त्यसैले कुनै अनुचित प्रभावमा नपरी योग्यतम व्यक्तिलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनाउन सरकारको ध्यानाकर्षण गराउँछौं ।
त्यसो नभएर भोलिका दिनमा आयोगको कार्य सम्पादन प्रभावित भयो भने त्यसले उत्पन्न गर्ने जटिलताका लागि सरकार जिम्मेवार हुनेछ । साथै हामीले विभिन्न मागहरु राखेर यही साउन २९ गतेबाट सत्याग्रह शुरु गर्न लागेकोमा सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेका थियौं । ती प्रतिबद्धताहरु कार्यान्वयन नभएमा सही भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने जानकारी पनि गराउँछौं ।
डा गोविन्द केसी
२०८० भदौ २१