काठमाडौं—चुनिखेलस्थित करुणा अस्पतालले नेपालमै पहिलोपटक ‘इको माइक्रोवेव अबुलेसन’ प्रविधीबाट भेरिकोष भेनको शल्यक्रिया सुरु गरेको छ । बुधबार अस्पतालले दोलखाका एक ६३ वर्षीया महिलाको भेरिकोष भेनको इको माइक्रावेव अबुलेसन प्रविधीबाट शल्यक्रिया गरेको हो ।
चिरफार नगरेरै इको माइक्रोवेव अबुलेसन पद्धतिबाट भेरिकोष भेनको उपचार भएको नेपालमै पहिलो रहेको अस्पतालका कन्सल्ट्यान्ट इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. मनिष थापाले जानकारी दिए । उनकाअनुसार दोलखा घर भएकी ती महिलामा ६ महिनादेखि भेरिकोष भेन (खुट्टा फुलेको, झमझमाउने, दुख्ने)को समस्या देखिएको थियो ।
‘करुणा अस्पतालले इको माइक्रोवेव अबुलेसन’ प्रविधी भित्र्याएको छ, यसबाट हामीले भेरिकोष भेनको उपचार गरेका छौं,’ डा. थापाले भने, ‘सम्भवतः भेरिकोष भेनको शल्यक्रिया नै नगरी मिनिमल इनभिजिव टेक्नीकबाट उपचार गरेको यो पहिलो हो ।’
करुणा अस्पतालमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. रामकुमार श्रेष्ठले अब यो उपचार करुणा अस्पतालमा नियमित हुने जानकारी दिए । ‘हामीले नयाँ प्रविधीबाट भित्र्याएर यो उपचार सुरु गरेका हौं,’ उनले भने, ‘अब नियमित रुपमा बिरामीले यो सेवा पाउनेछन् ।’
करुणामा माइक्रोवेवबाट गरिएको उपचारमा एनेस्थेसियोलोजिष्ट डा. थानेश्वर रिजालसहित नर्स र टेक्नीसियनहरुको टिम संलग्न रहेको थियो । यो उपचार पद्धति शल्यक्रियाहरुभन्दा बढी सहज र भरपर्दो रहेको डा. थापाले जानकारी दिए । ‘यो उपचार पद्धतिबाट उपचार गर्दा इन्फेक्सन हुने सम्भावना पनि निकै कम हुन्छ,’ उनले भने ।
पहिले शल्यक्रिया गर्नुपर्ने यो रोगमा त्यतिबेला नसाहरु निकाल्ने गरिन्थ्यो । केही वर्षयता भने सर्जरीको सट्टा चिरफार नगरीकन गरिने लेजर, आरएफए प्रविधीहरु प्रयोगमा छन् । तर, ती दुवै प्रविधीको तुलनामा इको माइक्रोवेव अबुलेसन अझ एडभान्स र सुरक्षित रहेको चिकित्सकहरु बताउँछन् ।
‘मिनिमल इनभिजिव माध्यमबाट लेजर र आरएफएबाट नेपालमा यो सर्जरी हुन्थ्यो,’ उनी भन्छन्, ‘अब हामीले नेपालमा सम्भवतः पहिलो पटक माइक्रोवेव अबुलेसनबाट यो शल्यक्रिया गरेका छौं ।’ यो प्रविधीमा इको माइक्रोवेव अबुलेसन मेसिनबाट हिट जेनेरेट गराएर टार्गेटेड ठाउँमा दिने गरिन्छ ।
यो प्रविधीबाट शल्यक्रिया गर्दा अस्पताल बसाइँ कम हुने, शल्यक्रियामा हुने जटिलता नहुने, रिकभरी राम्रो हुने, शल्यक्रियालगायतका अन्य खर्चहरु कम हुने डा. थापा बताउँछन् । ‘आज शल्यक्रिया भएका बिरामीहरु भोलि नै डिस्चार्ज हुन्छन्, यसले अस्पताल स्टे कम गराउने भएकाले खर्च पनि कम हुन्छ,’ उनी भन्छन् ।
भेरिकोष भने खुट्टामा देखिने गड्यौला आकारको नसाहरुको समस्या हो । उभेर लामो समय काम गर्ने (सुरक्षाकर्मी, डाक्टरलगायत), धेरै गर्भवती भएका महिला, वंशाणुुगत भएका, नसा च्याप्पिएको र रगतको नली जमेकोजस्ता कारणले भेरिकोष भेनको समस्या हुने गर्छ ।
भेरिकोष भेनको समस्या हुँदा खुट्टा सुन्निने, दुख्ने, खुट्टा भारी हुने, खुट्टा झमझमाउने, ठाउँ—ठाउँमा दाग बस्ने, छालाको रंग बदलिने, निको नहुने घाउहरु बन्नेलगायतका लक्षण देखिन्छन् ।
डा. थापा अहिले इन्टरभेन्सनल विधीमार्फत एडभान्स उपचार पद्धति विकास भएको बताउँछन् । इन्टरभेन्सनल विधीमार्फत पाठेघरमा रहेका गाठागुठी हटाउने, प्रोस्टेट आर्टरी अबुलाइजेसन, जीआई ब्लिडिङ अबुलाइजेसन, भेरिकोष भेनहरुलगायतको उपचार हुने गरेको छ । ‘माइक्रोवेव अबुलेसनबाट हामीले पहिले कलेजोको ट्युमर, फोक्सोको ट्युमर, थाइराइड ट्युमर, बोन, ब्रेस्टमा भएको ट्युमरको उपचार भइरहेको थियो,’ उनले भने, ‘भेरिकोष भेनको पहिलोपटक गरेका हौं ।’