धनगढी—नेपालमा पाइने सबै कीटजन्य रोग सार्ने लामखुट्टे तथा भुुसुना उच्च हिमाली क्षेत्रमा नै पाइएका छन् । सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाहरुमा इन्टोमोलोजी प्रयोगशालाको टिमले गरेको अध्ययनमा सो कुरा पाइएको हो ।
अध्ययन टोली १५—२० साउनसम्म दार्चुलाको ब्यास गाउँपालिकामा नै पुगेर अध्ययन गरेको थियो । सो अध्ययनको क्रममा मलेरिया गराउने एनोफेलेस म्याकुलट्स, एनोफेलस फ्लुभिएटिलिस (Anopheles fluviatilis) पाइएको हो । त्यसैगरी, डेंगी सार्ने एडिडेज एडिज एजिप्टाई (Adedes aegypti) , एडिज एल्बोपिक्टस (Aedes albopictus) पाइएको हो ।
सो सँगै हात्तीपाइले सार्ने क्लुएक्स एसपी (Cluex SP) र कालाजार गराउने लामखुट्टे फ्लेबोटोमस पापाटासी (Phlebotomus Papatasi) पाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले बताए ।
त्यसैगरी, गत वर्ष इन्टोमोलोजी प्रयोगशालाको टिमले बाजुराको हिमाली गाउँपालिकामा गरेको अध्ययनमा मलेरिया सार्ने एनोफेलेस म्याकुलट्स कम्प्लेक्स, मलेरिया सार्ने शंकास्पद लामखुट्टे एनोफेलेस कुलिसीफासिएस (Anopleles Culicifacies), हात्तीपाईले सार्ने लामखुट्टे पाइएको स्वास्थ्य निर्देशनालय राजपुरले जनाएको छ । हिमाली क्षेत्रमा रहेको उक्त गाउँपालिकामा कालाजार सार्ने फ्लेबोटोमस पापाटासी लामखुट्टे पनि पाइएको थियो ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले हरेक वर्ष कीट तथा कीटजन्य रोग सम्बन्धी अध्ययन गर्दै आएको छ ।