काठमाडौं—चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको हो । बिहीबार एक सूचना प्रकाशित गर्दै समितिले १७ भदौंमा प्रस्तुतीकरणको समय तोकेको छ ।
यसैगरी, १८ गते भने उम्मेदवारहरुको अन्तर्वार्ता हुनेछ । समितिले प्रस्तुीकरण र अन्तर्वार्ताका लागि एक घण्टा अगावै उपस्थित हुन भनेको छ ।
साथै समितिले पावर प्वाइन्ट प्रिजेन्टेसनको इलेक्ट्रोनिक्स कपी भने शुक्रबार ३ बजेभित्र सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय सिंहदरबारमा पेश गर्न भनेको छ ।
आयोगको कार्यकारी उपाध्यक्षका लागि अहिलेका कार्यकारी उपाध्यक्ष डा. श्रीकृष्ण गिरीसहित ९ जनाको आवेदन परेको छ । जसमा डा. अन्जनीकुमार झा, डा. पियुष दाहाल, डा. प्रमोदकुमार यादव, डा. प्रवीण मिश्र रहेका छन् । यसैगरी, डा. मनेनप्रसाद गोर्खाली, डा. विधाननिधी पौडेल, डा. संगीता सिंह भण्डारी र डा. सुमनकुमार श्रेष्ठले आयोगको उपाध्यक्षका लागि आवेदन दिएका छन् ।
सिफारिस समितिले यी मध्येबाट उत्कृष्ट तीन जनाको नाम आयोगको उपाध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद्ले सिफारिस समितिले सिफारिस गरेका तीन जना व्यक्तिबाट एक जनालाई कार्यकारी उपाध्यक्ष नियुक्त गर्नेछ ।
अहिलेका कार्यकारी उपाध्यक्ष डा. गिरीको कार्यकाल यही महिना सकिदैंछ । जसका कारण नयाँ उपाध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढेको हो ।