काठमाडौं—देशका भीआईपी र भीभीआईपीहरुको रोजाइको निजी अस्पताल हो—नर्भिक अन्तर्राष्ट्रिय अस्पताल । पूर्वराजपरिवारदेखि वर्तमान प्रधानमन्त्रीसम्म नियमित स्वास्थ्य जाँचका लागि नर्भिक अस्पताल पुग्ने गर्छन् ।
देशका सबैभन्दा प्रतिष्ठित चिकित्सक काम गर्ने त्रिवि शिक्षण अस्पताल र वीर अस्पताललगायत उच्चस्तरका सरकारी अस्पताल छोडेर भीआईपी, भीभीआईपी नर्भिक जाने गर्छन् । जबकी, त्यही नर्भिकमा अधिकांश वीर, त्रिवि शिक्षणका चिकित्कसहरुले नै सेवा दिन्छन् ।
विदेशीहरुले समेत उपचारका लागि रोज्ने अन्तर्राष्ट्रियस्तरको अस्पताल भन्दैं नर्भिक प्रशासनले बेला—बेला प्रचार—प्रसार नै गर्ने गर्छ । तर, नर्भिकका संचालक र संस्थापकको परिवार नै आफ्नो अस्पताललाई विश्वास नगरेको दृष्टान्तहरुले देखाउँछन् ।
यसअघि नर्भिक अस्पतालका संस्थापक अध्यक्ष बसन्त चौधरी आफ्नो मुटुको उपचारका लागि २०२१ अक्टोबर पहिलो साता युएईको अमेरिकन अस्पतालमा पुगेका थिए । आकस्मिक रुपमा हृदयघात भएर उपचार गराएको भनेतापनि योजनावद्ध रुपमै उनी त्यहाँ पुगेको नर्भिक अस्पतालकै एक उच्च अधिकारी बताउँछन् । अन्तर्राष्ट्रियस्तरको अस्पताल संचालन गर्ने दावी गर्ने उनी त्यसपछि नियमित रुपमा स्वास्थ्य परीक्षणका लागि युएई जाने गरेका छन् ।
मुटुको उपचार नेपालका उत्कृष्ट भनेर कहलिएको अस्पतालको विश्वासमाथि केही शंका रहनु एक कुरा होला । तर, रोचक त के भने सामान्य होलबडी जाँचका लागिसमेत चौधरी परिवार आफ्नो अस्पताललाई विश्वास गर्दैन् । यसको पछिल्लो उदाहरण हुन्—संस्थापक अध्यक्ष चौधरीकी श्रीमती मीना चौधरीको होलबडी चेकअपकै लागि सिंगापुर दौडाहा ।
संस्थापक अध्यक्ष चौधरी श्रीमतीको होलबडी चेकअपका लागि शनिबार सिंगापुर गएका छन् । आइतबार चौधरीले नेपालमै छु भन्ने देखाउनका लागि उनको फेसबुकबाट एउटा कविता शेयर गर्दै लोकेसन नेपाल नै देखाएका छन् । तर, शनिबार नै उनी श्रीमती मीनालाई लिएर सिंगापुर गइसकेका छन् । ५ सेप्टेम्बरमा नेपाल फर्किने कार्यक्रम तय भएको अस्पताल स्रोत बताउँछ ।
चौधरी परिवारले मीनाको उपचार आफ्नै अस्पतालमा गर्न हच्किनुको कारण केही महिनाअघि ज्वाइँ (मेघाका श्रीमान) प्रवेशजंग रायमाझीको उपचारका क्रममा आएको जटिलतालाई मानिएको छ । पित्तथैलीको पत्थरी उपचारपछि रहस्यमय तरिकाले थप जटिलता आएपछि हतार—हतार गरेर भारतको मेदान्त अस्पताल लगिएको थियो । अस्पताल स्रोतका रायमाझी अझै पनि पूर्ण रुपमा निको भइसकेका छैनन् ।
चौधरी परिवारमा कोही पनि बिरामी हुँदा विशेषगरी भारतको मेदान्त र युएईको अमेरिकन अस्पताल जाने गरेको नर्भिक अस्पताल स्रोत बताउँछ । ‘हामी दिनरात खटेर अस्पताललाई राम्रो बनाउन र गुणस्तरीय सेवा दिन लागेका छौं,’ अस्पतालका एक चिकित्सक भन्छन्, ‘हामीलाई नै अविश्वास गरेर पटक—पटक संस्थापकहरु नै उपचार गर्न विदेश जाँदा मन खिन्न हुन्छ । नेताले विदेश उपचार गरे भनेर हामीले के गुनासो पोख्नु ?’