२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयमा भनसुनको भरमा काम गर्ने पद्धति अन्त्य भयो : स्वास्थ्यमन्त्री

स्वास्थ्य मन्त्रालयमा भनसुनको भरमा काम गर्ने पद्धति अन्त्य भयो : स्वास्थ्यमन्त्री

तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने


सिन्धुपाल्चोक—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले इतिहासमै पहिलो पटक मन्त्रालयमा भनुसनको भरमा काम गर्ने पद्धतिको अन्त्य भएको दावी गरेका छन् । बिहीबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० मा भएका विकास निर्माण सम्बन्धि कार्यक्रमहरुको वार्षिक समीक्षामा मन्तव्य राख्दैं उनले उक्त दावी गरेका हुन् ।

मन्त्री बस्नेतले भनसुनकै भरमा ८ सयभन्दा बढी केन्द्रमा काजमा बसेका स्वास्थ्यकर्मीलाई दरबन्दी भएको ठाउँमा पठाइएको बताए । ‘भनसुनको भरमा ८ सयभन्दा बढी स्वास्थ्यकर्मी काजमा केन्द्रमा नै बसेका थिएँ । अहिले त्यो सबै अन्त्य भएको छ,’ उनले भने, ‘नेपालको इतिहासमा पहिलो पटक स्वास्थ्य मन्त्रालयमा भनसुनको भरमा काम गर्ने पद्धतिको अन्त्य भएको छ ।’

मन्त्री बस्नेतले जनताले अनुभूत गर्ने गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताए । ‘हामीले एक सय दिनको काम सार्वजनिक गरिसकेका छौं । अहिले सरकारी अस्पतालमा बिरामीको चाप बढ्दैंछ,’ मन्त्री बस्नेतले भने, ‘राम्रो भएर नै सरकारीमा चाप भएको हो ।अझै राम्रो बनाउन लाग्नेछौं ।’

नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा पनि त्यसको चर्चा भइरहेको बताए । ‘माल्दिभ्सका मन्त्रीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावरण मिलाइदिनुस् भनेर अनुरोधसमेत गर्नुभएको छ,’ मन्त्री बस्नेतले भने, ‘हामीले यहाँ मेडिकल शिक्षा सहज रूपमा दिने वातावरण नमिलाउने हो भने पाँच वर्षपछि डाक्टर र नर्सको अभाव हुन्छ । यो कुरालाई ध्यान दिएर स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने हो ।’

उनले अबका तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने दावी गरे । मन्त्री बस्नेतले अहिले देशभरका संघीय अस्पतालहरुमा मात्रै ३ हजार ५ सय बेडमा निःशुल्क उपचार हुने व्यवस्था रहेको र आगामी दिनहरुमा अझै वृद्धि गर्ने बताए।

उनले आफ्नो अनुरोधमा बागमती प्रदेश र मधेश प्रदेशका अस्पतालहरुले समेत निःशुल्क उपचारमा सहयोग गरिरहेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ