२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यकुवेतमा ९७५ विशेषज्ञ चिकित्सक माग, मासिक तलब १२ लाख ७० हजार रुपैयाँसम्म

कुवेतमा ९७५ विशेषज्ञ चिकित्सक माग, मासिक तलब १२ लाख ७० हजार रुपैयाँसम्म


काठमाडौं—कुवेतको एक बहुप्रतिष्ठित हस्पिटलले ठूलो संख्या विदेशी विशेषज्ञ चिकित्सकहरुका लागि आवेदन माग गरेको छ । नेपालका लागि उक्त हस्पिटलको रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले कुवेतको हस्पिटलमा काम गर्न इच्छुक नेपाली चिकित्सकहरुका लागि आवेदन खुला गरिएको जनाएको छ ।

ओमेगाका अप्रेशन म्यानेजर विनोद थापाले अहिले हस्पिटलले दुई वर्षका लागि ९७५ जना विशेषज्ञ चिकित्सक माग गरेको जानकारी दिए । ‘अहिले ठूलो संख्यामा विशेषज्ञ चिकित्सकको माग भएको छ,’ उनले भने, ‘विशेषज्ञता हासिल गरेपछि तीन वर्ष काम गरेको अनुभव आवश्यक पर्छ ।’ छनोटका प्रक्रियामा भने अनलाइन अन्तर्वार्ता रहेको थापाले जानकारी दिए ।

उनकाअनुसार हस्पिटलले सुरुमा दुई वर्षका लागि कन्ट्याक्ट दिनेछ भने त्यसपछि बस्न मन हुने चिकित्सकहरुले भिसा थपेर अवधि लम्बाउन सक्नेछन् ।

अस्पतालले एनेस्थेसिया डाक्टर १०० जना, आईसीयु कार्डियाक डाक्टर २२५ जना, पेडियाट्रिक डाक्टर १२५ जना, फिजिसियन डाक्टर (इमर्जेन्सी) २०० जना, अब्स्ट्याक्ट तथा गाइनोकोलोजिष्ट डाक्टर १०० जना, अर्थोपेडिक्स डाक्टर १०० जना र रेडियोलोजिष्ट डाक्टर १२५ जना माग गरेको हो ।

उनकाअनुसार प्रतिदिन ८ घण्टाका दरले महिनामा २६ दिन काम गर्नुपर्नेछ । मासिक आधारभूत तलब विधा हेरेर ७ लाख ११ हजारदेखि १२ लाख ७० हजार नेपाली रुपैयाँसम्म हुनेछ ।

सुरुको महिनाको खाना र बस्नको व्यवस्थासमेत अस्पतालले गर्नेछ भने त्यसपछिको महिनाबाट खानाको व्यवस्था भने आफैले गर्नुपर्नेछ । लजिङको सुविधा भने अस्पतालले नै उपलब्ध गराउने उनले जानकारी दिए ।

कुवेत पठाउने खर्चका रुपमा भने एक महिनाको तलब कट्टा गरिनेछ । त्यसबाहेक अन्य कुनै पनि खर्च नलाग्ने थापाले जानकारी दिए ।

वैदेशिक रोजगारमा कामदार पठाउनका लागि वैदेशिक रोजगार विभागबाट अनुमति लिनुपर्ने प्रावधान छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ