२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगुठीचौरका हाकिमसहित स्वास्थ्यकर्मीले पाएनन् पारिश्रमिक

गुठीचौरका हाकिमसहित स्वास्थ्यकर्मीले पाएनन् पारिश्रमिक


जुम्ला—गुठीचौर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गमबहादुर रोकाया स्वास्थ्यकर्मी हुन् । अहिले उनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।

मुणी साँघु स्वास्थ्य चौकीका इन्चार्ज रोकाया केही समयअघिदेखि गुठीचौरको कार्यपालिका निर्णयले प्रमुख प्रशासकीय अधिकृत भए । उनीसहित गुठीचौरका अन्य स्वास्थ्यकर्मीले गत वर्षको दुई महिनाको पारिश्रमिक भत्ता पाएका छैनन् ।

देपागाउँ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव देवानन्द तिमल्सिनाले दुई महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा असारको तलब नपाएका उनले आर्थिक वर्ष ०७९÷८० मा जेठ र असारको तलब नै नपाएको गुनासो गरेका हुन् । दुई महिनाको तलब र चैत बैशाखमै पाउनुपर्ने पोशाक भत्ता अझै नपाएको अहेब तिमल्सिनाले बताए ।

‘तलबकै भरमा छोराछोरी पढाइ रहेका छौं । घरमा जेनतेन गुजारा गरेपनि काठमाडौं होस्टेलमा बस्ने छोराछोरीलाई प्रत्येक महिना पैसा नपठाए खान बस्न नै मुस्किल हुन्छ,’ उनले भने, ‘छोरीले डाक्टरी पढ्दैंछ । तर, पालिकाले तलब समयमै हाल्दैन् । स्वास्थ्यकर्मीका समस्याप्रति पालिकाका जनप्रतिनिधिदेखि प्रशासन कर्मचारी अनुदार भएका छन् । हामी निकै मर्कामा छौ ।’ अरु शाखाका कर्मचारी महिना नपुग्दै तलब बुझेपछि आफूहरुलाई महिना त परै जावस दुई महिना बित्दा सक्दा पनि तलब नदिइएको गुनासो उनको छ ।

त्यस्तै, देपालगाउँ स्वास्थ्य चौकीकै इन्चार्ज क्षेत्रबहादुर खत्री पनि समयमै तलब भत्ता नपाउँदा गुठीचौरका स्वास्थ्यकर्मी मर्कामा परेको बताउँछन् । उनले पनि गत आर्थिक वर्षको जेठ असारको तलब पाएका छैनन् । उनले भने, ‘रातदिन खटिने स्वास्थ्यकर्मीले तलब नपाउँदा आफै अस्वस्थ छौं । अब असोजमै ५ महिनाको तलब बुझ्छौ होला ? त्यतिबेला के अर्थ ? वर्षेनी स्वास्थ्यकर्मीले नै तलब नपाउने समस्या अन्त्य गर्न पालिका प्रमुखको ध्यान पुग्न सकेको छैन ।’

समयमै तलब नपाँदा क्षेत्रबहादुर र देवानन्द मात्रै होइन्, गुठीचौर गाउँपालिकाअन्तर्गत रहेका तीन स्वास्थ्य चौकीसहित दुई आधारभूत स्वास्थ्य सेवा केन्द्रका १७ जना स्वास्थ्यकर्मी मर्कामा परेका छन् । मणिसाँघु स्वास्थ्य चौकी, गज्र्याङ्गकोट स्वास्थ्य चौकी र देपालगाउँ स्वास्थ्य चौकी तथा गुठीगाउँ आधारभुत स्वास्थ्य सेवा केन्द्र र गज्र्याङ्गकोट आधारभूत स्वास्थ्य केन्द्र गरी १७ जना स्थायी र १२ जना करार गरी २९ जना स्वास्थ्यकर्मी छन् ।

गुठीचौरका स्वास्थ्य शाखा प्रमुख बालाराम नेपाली भन्छन्, ‘पालिकाका जम्मा २९ जना स्वास्थ्यकर्मीमध्ये करारका १२ जनाले पालिकाबाटै तलब बुझिसकेका छन् । तर, स्थायी १७ जनाले दुई महिनाको तलब पाएका छैनौं । समयमै बजेट नआएको र असार २४ गते ५ बजे ५२ लाख माग गरिएकोमा ३० लाख मात्रै बजेट आएको तर अन्तिममा सर्वरले काम नगर्दा चेक काट्न नपाएपछि स्वास्थ्यकर्मीले तलब खान पाएनन् ।’ प्रमुख प्रशासकीय अधिकृतसमेत स्वास्थ्यकै कर्मचारी भएकोले उनले पनि तलब खाएका छैनन् । समयमै मन्त्रालयबाट बजेट नआउने, बेलैमा पालिकाले पहल गर्नेजस्ता समस्याले स्वास्थ्यकर्मीले तलब नपाएका हुन् ।

गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा सन्तोषजन बजेट छुट्याइकोमा यस वर्ष ८–१० लाख मात्रै छुटाएको सुनेको उनले बताए । ‘बजेट स्पष्ट हेर्न पाएको पनि छैन् । बजेट प्रस्तुतका बेला अध्यक्ष, उपाध्यक्षबीच भएको लफडाबारे सबै जानकार नै छौं,’ उनले थपे, ‘स्वास्थ्य शिक्षालाई प्रथामिकता दिने नारानुसार काम हुन सकेको छैन् । पालिकामै भिडियो एक्सरे, ल्याबको व्यवस्थापन गर्न धेरै पटक माग गरेपनि सुनुवाई छैन् । चोत्रा र मुलुरीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न माग गरेपनि हुन सकेको छैन् । नीति र नारामा प्रथामिकता परेपनि कार्यान्वयनमा स्वास्थ्य क्षेत्र उपेक्षामा छ ।’

गुठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गमबहादुर रोकाया मन्त्रालयबाटै असार २४ गतेका दिन ७ बजे अख्तियारी आएको र पुँजीगतको भुक्तानी गर्दा गर्दै समयले नभ्याएर स्वास्थ्यकर्मीले तलब नपाएको बताए । उनका अनुसार धेरै पहिला नै तलबको माग गरिएपनि मन्त्रालयले समयमै नपठाउँदा समस्या भएको हो ।

गुठीचौरका अध्यक्ष दानबहादुर बुढाले स्वास्थ्यकर्मीहरुले आफ्नो कमजोरीका कारण नभई लेखापालको कमजोरीले तलब नपाएको बताए । उनले भने, ‘स्वास्थ्यकर्मीहरुले तलब नपाएकोमा दुःखित छु । लेखापालको त्रुटिका कारण स्वास्थ्यकर्मीलाई तलब खुवाउन सकिएन् । यद्यपी मैले तलब खुवाउन ताकेता दिएको थिए,’ उनले भने । गुठीचौरमा स्वास्थ्य ल्याब स्थापना गर्न केन्द्रीय बजेटमा आइसकेकोले चालु आर्थिक वर्षमै ल्याब तथा मुरुल्ली र चोत्रा गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना हुने अध्यक्ष बुढाको दावी छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ