विराटनगर—सुनसरीको धरानमा डेंगीले प्रकोपकोे रूप लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगी उपचार सेवा संचालनमा ल्याएको छ । आइतबारबाट विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २५ शैय्याको डेंगी उपचार सेवा संचालनमा ल्याइएको हो ।
उक्त डेंगी उपचार सेवाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरे । धरानमा डेंगी प्रकोपको रूपमा फैलिएर अस्पतालमा शैय्या अभाव भएर भुइँमा बसेर संक्रमितहरुको उपचार भइरहेको अवस्थामा प्रदेश सरकारले २५ शैय्याको जनरल बेड संक्रमितको उपचारको लागि ल्याइएको मुख्यमन्त्री थापाले बताए ।
‘डेंगी संक्रमितले भुइँमा सुतेर उपचार गरिनुपर्ने अवस्थामा अब अन्त्य हुनेछ,’ मुख्यमन्त्री थापाले भने, ‘प्रदेश मातहतको अस्पतालमा अब निःशुल्क डेंगीको उपचार सुरू भएको छ ।’ मुख्यमन्त्री थापाले मन्त्रिपरिषद्को बैठक बसेर धरानमा १ सय थान स्प्रे मेसिन पनि वितरण गरिएको जानकारी दिए ।
कार्यक्रममा बोल्दैं कोशी प्रदेशकी स्वाथ्यमन्त्री निर्मला सुब्बाले प्रकोपको रुपमा फैलिएको डेंगी रोकथाम र नियन्त्रणमा प्रदेश सरकार लागि परेको बताए । ‘यसअघि निःशुल्क किट वितरण गरेर प्रकोपको रुपमा फैलिएको धरानमा डेंगी परीक्षण हुने गरेको थियो,’ उनले भनिन्, ‘अहिले डेंगी संक्रमित बिरामीको उपचारको लागि २५ शैय्याको उपचार केन्द्र संचालनमा ल्याएका छौं । बिरामीको संख्याअनुसार बेड थप हुँदै जानेछ ।’
डेंगी रोक उपचार व्यवस्थापनको लागि संयोजक भरत साहलाई जिम्मेवारी दिएको छ । संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २२ जना स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् । स्वास्थ्य मन्त्रालयले थप ४३ जना जनशक्ति आवश्यक परेको भन्दै प्रदेश सरकारसँग माग गरिएको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले जानकारी दिइन् । ‘दरबन्दी स्वीकृत भएर आउने क्रममा रहेको उनले बताइन् । ‘अहिले भएको जनशक्तिबाट डेंगी संक्रमित बिरामीको उपचार हुनेछ,’ उनले भनिन्, ‘दरबन्दी थप भएर आएपछि उपचारमा सहज हुनेछ ।’
कोशी प्रदेशमा आइतबारसम्ममा २२ हजारभन्दा बढीमा डेंगी संक्रमित रहेका छन् । जसमध्ये धरानमा सबैभन्दा बढी संक्रमित रहेका छन् । धरानमा शनिबारसम्ममा १७ हजार ३ सय ८२ जनामा परीक्षण गर्दा १२ हजार ५ सय ९१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म डेंगी संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना पुरुष र ५ जना महिला रहेका छन् ।