विराटनगर—डेंगी संक्रमणको केन्द्रविन्दु बनेको धरान उपमहानगरपालिकामा संक्रमितको संख्या १२ हजार नाघेको छ । बिहीबार साँझसम्मको विवरणअनुसार धरानमा डेंगी संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
मृत्यु हुनेमा ६ जना महिला र ५ जना पुरुष छन् । हालसम्म संक्रमितको संख्या भने १२ हजार १८४ पुगेको छ ।
धरान उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख उमेश मेहताले दिएको विवरण अनुसार धरानमा हालसम्म १६ हजार ८४० जनाको डेंगी परीक्षण भएको छ । जसमध्ये ७२ प्रतिशतमा डेंगी देखिएको हो ।
बिहीबारमात्रै गरिएको ३९० वटा परीक्षणमा २८७ जनामा डेंगी देखिएको उनले बताए । यो ७४ प्रतिशत हो ।
धरानमा हालसम्म सबैभन्दा धेरै वडा नम्बर ११ का ४ जनाको डेंगी संक्रमणबाट मृत्यु भएको छ । वडा नम्बर २, ५, १०, १५, १६, १७ र १८ नम्बरमा १/१ जना डेंगीको संक्रमणबाट मृत्यु भएको छ ।
धरानमा विभिन्न ८ स्थानमा डेंगुको परीक्षण भइरहेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगी क्लिनिक नै संचालन गरेर काम गरिरहेको छ ।