काठमाडौं—नेपाल अप्थाल्मीक सोसाइटीले देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग तीव्र गतिमा फैलिरहेको बताएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै उसले यो रोग रोकथामको लागि नेपाल सरकारले चाल्ने कदममा साथ दिनसमेत आव्हान गरेको छ ।
नेपाल अप्थाल्मीक सोसाइटीले दिन प्रतिदिन बढ्दै गएको आँखा पाक्ने रोगप्रति समयमै सावधानी नअपनाए यसले महामारीको प्रकोप लिन सक्ने बताएको छ ।
आँखा पाक्ने रोग साधारणतयाः एक्युट भाइरल कन्जनटिभाइटिसका कारण हुन्छ । यो भाइरस वर्षाको समयमा बढी सक्रिय हुन्छ । आँखा पाक्दाः आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखा हेर्न अप्ठयारो हुने, आँशु बग्ने र कचेरा आउनेजस्ता लक्षणहरु देखिने सोसाइटीले जनाएको छ ।
उसले आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले यसबाट बच्न सरसफाइमा विशेष ध्यान दिन, बिरामीले प्रयोग गरेको रुमाल र तौलिया प्रयोग नगर्न, चस्माको प्रयोग गर्न, आँखा छुनुअघि साबुन पानीले हात धुन र अनाअवश्यक भिडभाडमा नजान आग्रह गरेको छ ।