काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतमा अनौठो प्रचार मोह देखिन थालेको छ । नीतिगत कामहरु र ठूला योजनाहरुमा ध्यान दिनुपर्ने मन्त्री बस्नेत कहिले अस्पताल त कहिले फार्मेसी अनुगमनमा निस्केर प्रचारमोहमा रमाइरहेका छन् ।
यतिमात्रै होइन्, कहिले वर्षौदेखि नचल्न नसकेका भीभीआईपी र भीआईपी कक्ष थपेर त कहिले सरकारी अस्पतालमा सामान्य शैय्यामा निःशुल्क गरेर उल्कै प्रचार गरिरहेका छन्, उनी । तर, बढ्दो डेङ्गुको फैलिइरहेको महामारीप्रति उनको खासै रुचि र तदारुकता देखिन सकेको छैन ।
राजनीति स्टन्ट गर्न माहिर बस्नेतले गरेको एक त्यस्तै स्टन्ट अहिले सामाजिक सन्जालतिर चर्चाको विषय बनेको छ । प्रसंग हो—सिन्धुपाल्चोकको चौतारा अस्पताललाई उनले गरेको शववाहन हस्तान्तरणको ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गतका अस्पतालका लागि ७ वटा शववाहन खरिद गरेको थियो । १४ साउनमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले हेटौडामै उक्त शववाहनहरु ७ वटा प्रदेश अस्पताल विकास समितिका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टहरुलाई हस्तान्तरण गरेका थिए ।
तर, मन्त्री बस्नेतलाई आफ्नो गृहजिल्लामा अरुले शववाहन हस्तान्तरण गरेको मन परेनछ । आफ्नो गृहजिल्लाका जनतालाई काम गरेको देखाउने उनको हुटहुटी शववाहनमा गएर पोखियो । मन्त्री बस्नेतले हस्तान्तरण गरिसकिएको शववाहनको साँचोसहित चौतारा अस्पतालका मेसु डा. त्रिभुवन झालाई काठमाडौं बोलाए ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १६ साउनमा पुनः शववाहनको साँचो डा. झालाई हस्तान्तरण गरे । त्यसलाई फोटो खिचेर उनका सहयोगीहरुले फेसबुकमा राखेपछि यस विषयमा सामाजिक सन्जालमा प्रयोगकर्तामाझ राम्रै चर्चा बटुलिरहेको छ ।
यो शैली अपनाएका पुनः शववाहन हस्तान्तरण गरेका थिए—बागमती प्रदेशका आर्थिक मामिला बहादुर सिंह लामाले । १४ साउनमै स्वास्थ्यमन्त्री जोशीले त्रिशुली अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंहलाई हस्तान्तरण गरिसकेको शववाहन लामाले आफ्नो मन्त्रालयमा बोलाएर पुनः हस्तान्तरण गरेको नाटक गरे ।
प्रदेश सरकारले चितवनको बहुलहर रत्नगर अस्पताल, दोलखा अस्पताल, चौतारा अस्पताल, सिन्धुली अस्पताल, रामेछाप अस्पताल र त्रिशुली अस्पताललाई शववाहन खरिद गरेर हस्तान्तरण गरेको थियो ।