काठमाडौं—नेपाली कांग्रेसभित्रको आन्तरिक झगडाको छायाँमा यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियुक्ति तथा जिम्मेवारीमा पनि पर्न थालेको छ । कांग्रेसको संस्थापन अर्थात सभापति शेरबहादुर देउवा निकट मानिने मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् ।
मन्त्री नियुक्तिका बेला स्वास्थ्यमा आफ्नो पक्षबाट मन्त्री बनाउन महामन्त्री गगन थापा र उनको टिमले निकै प्रयास गरेको थियो । त्यसको कारण गगन आफू स्वास्थ्यमन्त्री हुँदा आफूले त्यहाँ निर्माण गरेको आफ्नो बलियो टिम कारण थियो । तर, देउवाले शेखर समूहका गगन र उनको टिमले स्वास्थ्य मन्त्रालयका लागि गरिरहेको जोडबल शेखरलाई नै प्रयोग गरेर निस्तेज गरिदिए । त्यसपछि देउवाकै रोजाइमा सिन्धुपाल्चोकका नेता बस्नेत स्वास्थ्यमन्त्री बने ।
आफ्नै पार्टीको स्वास्थ्यमन्त्री बनेपछि हौस्सिएका कांग्रेस निकट स्वास्थ्यका कर्मचारीहरु अहिले अनौठो बेचैनीमा दिन गुजारिरहेका छन् । स्वास्थ्यको उच्च तहका एक कांग्रेसनिकट कर्मचारीकाअनुसार बस्नेतले मन्त्रालयमा गगनले निर्माण गरेको बलियो टिम भत्काउने रणनीति अख्तियार गरेका छन् । त्यसका लागि उनले गगन निकटलाई नियुक्तिदेखि जिम्मेवारी हेरफेरसम्ममा वाइपास गर्दै गएका छन् । ‘गगन थापा निकट डाक्टर, नर्स, पारामेडिक्स जो भएपनि किरानामा पार्नुपर्छ भन्ने रणनीति स्वास्थ्यमन्त्रीको छ,’ ती कर्मचारी भन्छन्, ‘नियुक्ति र जिम्मेवारी हेरफेरमा पनि गगन निकटलाई पन्छाउँदैं आइएको छ ।’
त्यसको सबैभन्दा ठूलो उदाहरण हुन्—अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको स्वास्थ्य सेवा विभागको महानिर्देशक हुने यात्रामा ब्रेक । लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव रहेका डा. देवकोटा त्यहाँबाट बढुवा भएर अतिरिक्त सचिव भएर स्वास्थ्य मन्त्रालय फर्किनुको कारण महानिर्देशक बन्नु नै थियो । मन्त्री भएर आएपछि बस्नेत पनि विभागको महानिर्देशक फेर्न चाहन्थे ।
कतिसम्म भने डा. देवकोटाले विभागको महानिर्देशकका लागि रक्षामन्त्री तथा देउवा क्याम्पका प्रभावशाली नेता पूर्णबहादुर खड्काको ‘ग्रीन सिग्नल’ समेत पाइसकेका थिए । खड्काका भाइ डा. डम्बर खड्का पनि कुनै समय डिजीका दाबेदार थिए । तर, डा. देवकोटाले डा. डम्बरलाई मात्रै मनाएनन्, उनका दाइ पूर्णबहादुरको पनि ग्रीन सिंग्नल पाए । खड्काको ग्रीन सिग्नलपछि डा. देवकोटा स्वास्थ्य सेवा विभागको डिजी बन्ने लगभग पक्कापक्की थियो । तर, गगन निकट भएकै कारण उनका लागि मुखमा आइसकेको महानिर्देशक पद ‘आकाशको फल’को अवस्था बन्न पुग्यो ।
विभागको महानिर्देशकको दौडबाट विकासलाई वाइपास गरेपछि डा. संगीता मिश्रा एक्लो दावेदार थिइन् । तर, डा. विकासलाई वाइपास गर्दा पार्टीभित्रै असन्तुष्टि चुलिने देखेपछि मन्त्री बस्नेत तत्काललाई अहिलेकै महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलाई निरन्तरता दिने पक्षमा देखिएका छन् ।
नेपाल चिकित्सक संघ (एनएमए)का निवर्तमान अध्यक्ष डा. लोचन कार्कीका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को रेक्टर बन्नु पनि फलामको च्यूरा सावित भयो । कांग्रेसनिकट चिकित्सकहरुमाझ प्रभावशाली छवि बनाएका उनका लागि रेक्टरको जिम्मेवारी पाउनु आफ्नै पार्टीको विभागीय मन्त्री भएका बेला गाह्रो विषय थिएन् । मन्त्री बस्नेतले गगन निकट भएकै कारण उनलाई रेक्टर नबनाउने अड्डी कसे । तर, अन्तिममा न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेत र एनएमएको जोडबलमा उनले रेक्टरमा नियुक्ति पाए । ‘सुरुमा मन्त्रीले डा. लोचनलाई गगन निकट भएकाले रेक्टर बनाउन पनि आनाकानी गर्नुभएको हो,’ अर्का एक कांग्रेसनिकट चिकित्सक सुनाउँछन्, ‘तर, एनएनए र डा. भुपेन्द्रको जोडबलमा मात्रै रेक्टर बनाइयो ।’ रेक्टर पदमा नियुक्त भएपछि डा. लोचन पनि अहिले मन्त्री निकट पुगेको चर्चा गगन टिमभित्र चलेको छ ।
न्याम्सको डिनका लागि डा. सन्ध्या चापागाईको दावेदारी बलियो थियो । किनभने, नेपाल मेडिकल काउन्सिलकी सदस्यसमेत रहेकी डा. चापागाईलाई नियुक्त गर्दा समावेसी टिम बनाएको र महिलालाई पनि टिममा राखिएको सन्देश जान्थ्यो । तर, डा. सन्ध्या र उनका श्रीमान डा. सुवास आचार्य गगन निकट रहेकै र एमालेको पालामा अवसर लिएको भन्दैं उनको नाम पनि डिन बन्ने लिष्टबाट हटाइयो ।
नेपाल नर्सिङ काउन्सिलको रजिष्ट्रारका लागि प्रबल दाबेर मानिएकी थिइन्—वीर अस्पतालकी नर्स रमिला चौलागाई । तर, रमिलाको नाम पनि गगनकै मान्छे भनेर काटियो । रमिलाको ठाउँमा माओवादी निकट शुक्ला खनाल नर्सिङ काउन्सिलको रजिष्ट्रार नियुक्त भइन् । जबकी मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्त गरेका डडेल्धुरा अस्पतालका अध्यक्षको नियुक्तिलाई वाइपास गरेर कांग्रेसनिकटलाई नियुक्तिमाथि नियुक्ति दिएर अवैधानिक काम नै गरेका थिए । रोचक त के भने काउन्सिलमा उनले गगन निटकलाई रोक्नकै लागि माओवादी निकटलाई रोजे ।
नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका प्रवक्ता गणेश आचार्यलाई उनको संगठनले मन्त्रीको सचिवालयका लागि सिफारिस गरेको थियो । त्यतिमात्र नभएर उनलाई सभापति देउवाका स्वकीय भानु देउवाले पनि सचिवालय राख्नका लागि मन्त्रीलाई सिफारिस गरिदिएका थिए । गगन स्वास्थ्यमन्त्री हुँदा अनुभवसमेत हासिल गरेकाले मन्त्रीलाई केही काममा सघाउन सकिन्छ भन्दैं आचार्यलाई उनको संगठनले पठाएको थियो । मन्त्री बस्नेतको सचिवालयमा उनले २१ दिनसम्म काम पनि गरे । तर, काज सरुवा नगरिदिएपछि उनी आफै वैधखानामै फिर्ता हुनुपर्यो । उनी फिर्ता हुनुपर्ने एउटा मात्रै कारण गगननिकट हुनु हो ।
यतिमात्र होइन्, मन्त्री बस्नेत गगन निकट भएकै कारण कांग्रेसनिकट नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे सल्लाह सुझाव लिन पनि मन्त्री मन गर्दैनन् । उनीमात्रै नभएर गगन निकट मानिने संघका कुनै पनि व्यक्तिसँग मन्त्रीले स्पष्ट दूरी बनाएका छन् । ‘गगनप्रति उहाँको भयंकर ठूलो इगो रहेछ,’ कांग्रेस निकट अर्का एक कर्मचारी भन्छन्, ‘अब दिइने नियुक्ति जिम्मेवारीमा पनि यही रणनीति अपनाउने देखिन्छ ।
अहिले स्वास्थ्य मन्त्री बस्नेत उपसचिव कृष्ण थापाको भर बढी पर्ने गरेको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ । थापा परराष्ट्रमन्त्री एनपी साउँदका ज्वाइँ हुन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट सरुवा गरेर ल्याइएका थापा प्रशासनतर्फका उपसचिव हुन् ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका महामन्त्री थापा नेपाली कांग्रेसभित्र सभापति देउवाका कटु आलोचक हुन् । स्वास्थ्यमन्त्री बस्नेतले त्यही कारण पनि गगन र उनको समूहलाई मन्त्रालयमा टार्गेट बनाएर काम गरिरहेको गुनासो गगन निकटले गर्ने गरेका छन् । हालै सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकमा पनि स्वास्थ्यमन्त्री बस्नेतले गगनमाथि स्वास्थ्यमन्त्री भएर आफूले केही नगरेको भन्दैं आगो ओकल्दा छेउबाट सभापति देउवापत्नी आरजु राणा देउवा मुस्कुराइरहेको दृश्य अनौठो देखिन्थ्यो ।