नेपालगन्ज—नेपालगन्जस्थित भेरी अस्पतालमा एमआरआई मेसिन जडान गर्न सुरु गरिएको छ । तीन वर्षदेखिको निरन्तर प्रयासपछि करिब २४ करोड रुपैयाँ पर्ने म्याग्नेटम भिटा सिष्टमको थ्री टी एमआरआई मेसिन भेरी अस्पतालमा ल्याइएको हो ।
केन्द्रीय अस्पतालको रुपमा रहेको भेरी अस्पतालको सेवा र सुविधालाई वृद्धि गर्दै सहज रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालमा एमआरआई मेसिन ल्याइएको हो । एमआरआई मेसिनलाई जडान गरेर सेवा संचालनका लागि आवश्यक प्रक्रियाहरु सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिए ।
अस्पतालको पुरानो इमर्जेन्सी भवनको तल्लो तलालाई मर्मत संहार गरेर एमआरआई मेसिनलाई जडान गर्न सुरु गरिएको छ । एमआरआई मेसिनका लागि डेढ वर्षअघि खुल्ला टेण्डरमार्फत एलसी खोलेर विभिन्न प्रशासनिक प्रक्रियाहरु पुरा गर्दै जर्मनीबाट एमआरआई मेसिन ल्याइएको हो ।
नेपालगन्जको भेरी अस्पतालमा दैनिक करिब ७ सयसम्म बिरामी उपचारका आउँछन् । टाउको, हाड तथा नशामा चोट लागेका, पेट, छाती रोग सम्बन्धित समस्या भएका बिरामीको उपचारमा एमआरआई परीक्षणको महत्वपूर्ण भुमिका हुन्छ ।
बिरामीलाई सहज रुपमा उपचार सेवा दिनका लागि भेरी अस्पतालमा ४० जना विशेषज्ञ चिकित्सक छन् । अस्पतालमा बिरामीको अप्रेशन गरेर उपचार गर्नका लागि कन्सल्टेन्ट सर्जन २३ जना छन् । अस्पतालले जनरल सर्जरी, प्रसुती, हाडजोर्नी, नसा, मुत्ररोग, नाक, कान, घाटी रोगको अप्रेशनसहितको उपचार सेवा दिदैं आएको छ ।
भेरी अस्पतालमा आउने बिरामीमध्ये दैनिक १० देखि १५ जनासम्म बिरामी एमआरआई गर्नुपर्ने अवस्थाका हुन्छन् । तर, अस्पतालमा एमआरआई गर्ने सुविधा नभएका कारण निजी स्वास्थ्य संस्थाहरुमा पठाउनुपर्ने बाध्यता थियो ।
भेरी अस्पतालमै एमआरआई मेसिन जडान भएर सेवा सुरु भएपछि बिरामीहरु महंगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । एमआरआई गराउँदा शरीरका विभिन्न अंग र भागको आधारमा ८ देखि १० हजारसम्म शुल्क लाग्छ ।
स्वास्थ्य बिमा गराएका बिरामीहरुलाई बिमा सेवाबाटै एमआरआई परीक्षण गर्ने गरी व्यवस्था मिलाउने तयारी भइरहेको अस्पतालका प्रमुख डा. चापागाईंले बताए ।
भेरी अस्पतालमा एमआरआई परीक्षण गर्न सक्ने २ जना कन्सल्टेन्ट रेडियोलोजिष्ट डाक्टर छन् । मेसिन थपिएपछि जनशक्ति पनि सँगसँगै थप्नुपर्ने अवस्था रहेको छ । भेरी अस्पताल परिसर नै करिब ३४ करोडको लागतमा २ सय ४० रुपैयाँ बेडको सुविधासम्पन्न भवन निर्माण भइरहेको छ ।
भेरी अस्पताललाई ५ सय बेडको अस्पताल बनाउने घोषणा गरिएको तीन वर्ष बितिसकेपनि हाल १ सय ६२ बेड मात्रै संचालनमा छन् ।