काठमाडौं—त्रिविअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियोथोरासिक एण्ड भास्कुल सर्जरी (सिटीभीएस) विभागको प्रमुखमा युवा चिकित्सक डा. अनिल भट्टराई नियुक्त भएका छन् । मंगलबारदेखि लागु हुने गरी एशोसिएट प्रोफेसर डा. भट्टराईलाई विभागीय प्रमुखमा नियुक्त गरिएको हो ।
क्याम्पस प्रमुख प्रा.डा. अर्जुन लामिछानेले उनलाई सोमबार तीन वर्षका लागि विभागीय प्रमुखमा नियुक्त गरेका हुन् । यसअघि उक्त विभागको प्रमुख प्रा.डा. भगवान कोइराला थिए । डा. भट्टराईलाई युवापुस्ताका उदीयमान कार्डियो भास्कुलर सर्जन हुन् ।
१० वर्ष रसिया बसेर पढेका डा. भट्टराईले त्यहाँको सारातोभ स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस गरेका हुन् । त्यही युनिभर्सिटीबाट पिजी गरेका डा. भट्टराईले इटालीमा समेत लामो समय उच्च तहको अध्ययन गरेका हुन् ।
इटलीको बेरगामोस्थित इन्टरनेशल हार्ट स्कुलमा एक वर्षको फेलोसीप गरेका उनले इटलीकै पादोभा युनिभर्सिटीबाट पिएचडी उपाधि हासिल गरेका हुन् ।
डा. भट्टराई पछिल्ला १० वर्षदेखि मनमोहन कार्डियोथोरासिकमा मुटुको शल्यक्रिया र अध्यापन सक्रिय छन् ।
मुटु सर्जरीलाई आफ्नो प्यासन र उपचारपछि निको भएका बिरामी चेहरामा झल्किने खुशीलाई आफ्नो प्रेरणा मान्ने डा. अनिल २०३४ सालमा पर्वतको मोदी गाउँपालिका दराख जन्मिएका हुन् ।
उनी यसबाहेक गाउँ—गाउँमा पुगेर मुटु सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरहरु पनि संचालन गर्दै आएका छन् ।