धनगढी—कैलालीस्थित धनगढी उपमहानगरपालिकाले गत वर्षदेखि ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको छ । सम्वन्धित वडामै विशेषज्ञसहितको टिम पुगेर उपमहानगरपालिकाले विशेषज्ञ सेवा उपलब्ध गराउँदैं आएको छ ।
यसका लागि उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आफू चढ्ने गाडी नै स्वास्थ्य शाखालाई हस्तान्तरण गरेर यो सेवा सञ्चालनको सुरुवात गरेका थिए । यो सेवा सुरु भएपछि विशेषज्ञ चिकीत्सकीय सेवाका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल आउनुपर्ने बाध्यता कम भएको छ ।
नगर प्रमुख हमालले चुनावी एजेण्डामै ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सेवा सुरु गर्ने कार्यक्रम राखेका थिए । उपमहानगरको नीति र कार्यक्रममा प्राथमिक योजनामा रहेको वडा क्लिनिक सेवा गत वर्षको पहिलो दिनमा नै नगर प्रमुख हमालले सुरु गरेका थिए। विशेषज्ञ वडा क्लिनिक सेवाको उद्घाटन तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए । भट्टले धनगढी उपमहानगरले सुरु गरेको महिनामा एक दिन एक वडामा विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चालनको सिको सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहलाई गर्न आग्रह समेत गरेका थिए ।
नगर प्रमुख हमालले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ साझेदारी योजनाको रूपमा सञ्चालनमा ल्याएको बताए । ‘आफ्नो कार्यकालको बाँकी चार वर्ष निरन्तर यो ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालनमा रहनेछ,’ उनले भने, ‘यसलाई उपमहानगरले साझेदारी कार्यक्रम तथा योजनाअन्तर्गत राखेको छ ।’
हमालले कुखुरा बेचेर उपचारका लागि धनगढीका अस्पताल आउनुपर्ने दिनको अन्त्य गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको बताए । उनका अनुसार दुई फिजिसियन र स्त्रीरोग विशेषज्ञ डाक्टरको मासिक २÷२ लाखका दरले चिकित्सकीय शुल्क भाटभटेनी सुपर मार्केटले पाँच वर्षसम्मका लागि बेहोर्ने सम्झौता धनगढी उपमहानगरसँग गरेको छ । ‘खासगरी ग्रामीण महिलाहरू स्वास्थ्य सेवा पहुँचबाट टाढा छन्,’ हमालले भने, ‘प्रसूति तथा स्त्रीरोग विशेषज्ञ वडा क्लिनिकमा छन् । यो एक प्रकारले आमा बचाउ कार्यक्रम भन्दा हुन्छ ।’
हमालले आफू चढ्ने गाडीलाई समेत वडा क्लिनिक कार्यक्रम सञ्चालनका लागि यसअघि नै उपलब्ध गराइसकेका छन् । उपमहानगरको १९ वडा नम्बरबाट सुरु ‘वडा क्लिनिक’ प्रत्येक वडामा महिनाको एक दिन सञ्चालन भइरहेको छ । वडा क्लिनिक सेवालाई थप प्रभावकारी बनाउन उपमहानगरपालिको १५ सिट क्षमताकाृ विद्युतीय गाडी नै खरिद गरेर सोमबार स्वास्थ्य शाखालाई हस्तान्तरण समेत गरिएको छ ।
विद्युतीय सवारी साधन वडा क्लिनिकका लागि खरिद गरिएपछि औषधि ढुवानीका साथै विशेषज्ञ चिकित्सकले वडा—वडामा गएर सेवा दिन सहज हुने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । ‘यसअघि नगरप्रमुखज्यूले आफू चढ्ने गाडी उपलब्ध गराएको भए पनि सिट क्षमता कम हुँदा थोरै समस्या थियो । अब १५ सिट क्षमताको विद्युतीय गाडी नै उपलब्ध गराएपछि काम सुरु गरिएको छ,’ उनले भने ।