विराटनगर—कोशी प्रदेशका सभामुख बाबुराम गौतम र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालासहित ५४ जनाले मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेका छन् । विराटनगरमा शुक्रबार सम्पन्न ‘मस्तिष्क मृत्यु पश्चातको अंगदान सम्बन्धि कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख गौतम, मेयर कोइरालाले मृत्युपश्चात शरीरका केही अंग दान दिने घोषणा गरेका हुन् ।
कार्यक्रममा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले पनि मृत्युपश्चात शरीरका केही अंग दान दिने घोषणा गरिन् । शुक्रबार मात्र ५४ जनाले मृत्यु पश्चात शरीरका केही अंग दान दिने मञ्जरीनामा पत्रमा हस्ताक्षर गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द श्रेष्ठले जानकारी दिए । अहिलेसम्म देशभरिमा ३ हजारले मृत्यु पश्चात शरीरका केही अंग दान दिने मञ्जरीनामा पत्रमा हस्ताक्षर गरेको उनले बताए ।
‘मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा अंग झिक्न पाउने कानुनी व्यवस्था रहेको छ । जसमा दुई वटा मिर्गौला, दुई वटा फोक्सो, एक वटा कलेजो, मुटु, प्याङ्क्रियाज, एक सानो आन्द्रा पर्छन्,’ डा. पुकारचन्द्र भन्छन्, ‘ऐनले ८ वटा अंग प्रत्यारोपण गर्न मिल्ने व्यवस्था गरे पनि नेपालमा हाल मिर्गौला र कलेजोको मात्र प्रत्यारोपण हुने गरेको छ ।’
अन्य अंगको प्रत्यारोपण सुरु गर्न नेपालमा सोही अनुसारको दक्ष जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारको कमी छ । ‘यो चिकित्सा विज्ञानको अत्यन्तै गम्भीर जटिल प्रक्रिया हो । सिप, दक्ष जनशक्ति र पूर्वाधार उत्तिकै राम्रो हुनुपर्छ । अनि मात्र सम्भव छ,’ उनले भने ।
अंग दानको लागि जनचेतना बढाउनुपर्नेमा जोड
मस्तिष्क मृत्यु पश्चात अंग दान गराउनको लागि जनचेतना बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले नेपालमा मस्तिष्क मृत्यु सम्बन्धी बलियो ऐन बनिसकेका कारणले अब जनचेतना बढाएर मस्तिष्क मृत्यु पश्चात अंग दान गर्नका लागि अभिप्रेरित गरिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका सभामुख बाबुराम गौतमलले अंग दान जीवन दान मरणोपरान्त अंग दानको लागि जनचेतना फैलाउनुपर्ने बताए । ‘अहिले पनि मस्तिष्क मृत्यु पश्चात अंग दानको बारेमा धेरैले बुझेका छैन,’ उनले भने, ‘ऐन बनेको छ । बनेको ऐन कार्यान्वयन गर्दै यस विषयमा जनस्तरमा बुझाउन जरुरी रहेको छ ।’
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मानव अंगको सफल प्रत्यारोपणले नागरिकको जीवनलाई गुणस्तरीय बनाएर बिरामीको उपचारमा सहज पु¥याउने बताए । अंग दान एउटा महान् मानवीय कार्य भएकोले मृत्यु पश्चात डढेर र गलेर जाने अंगले अरुको जीवन बचाउन सकिने भएकोले स्थानीयस्तरमा जनचेतना फैलाउनुपर्ने उनले बताए ।
एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड टेण्डल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मानव अंग प्रत्यारोपणको लागि निजी क्षेत्र र सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । आधुनिक र समय सापेक्ष प्रविधिको अवलम्बन गरी थप गुणस्तरीय सेवा प्रवाहको लागि सरकारी निकायसँग निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्न तयार रहेको उनले बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले अंगदानलाई प्रोत्साहन गरेर दुर्घटनाग्रस्त जीवनलाई बचाउनुपर्ने बताए । त्यसका लागि अंगदानको लागि जनस्तरमा जनचेतना जोगाउनुपर्ने उनले बताए ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले आफन्तले ‘ब्रेन डेथ’ भइसकेका व्यक्तिको अंग निकाल्न स्वीकृती नदिँदा संकलन गर्न अप्ठ्यारो परेको बताए । ‘अहिलेको संख्या अत्यन्त कम हो । मस्तिष्क मृत्युबारे आफन्तलाई बुझाउन गाह्रो छ । खरानी भएर जाने अंग दिनु न, यसले अरूको ज्यान बचाउन सहयोग गर्छ भन्दा पनि उहाँहरू मान्नु हुन्न । यसबारे जागरुकता अभियान जरुरी छ,’ उनले भने ।
नेपालमा मस्तिष्क मृत्यु सम्बन्धी बलियो ऐन बनिसकेको छ । तर कार्यान्वयन पक्ष फितलो हुँदा अनुमान गरेअनुसारको सफलता प्राप्त भएको छैन । ऐनमा व्यवस्था भएअनुसार कार्यान्वयन पक्ष प्रभावकारी हुने हो भने अंग प्रत्यारोपणमा क्रान्ति आउने डा. श्रेष्ठको भनाइ छ ।
नेपालमा अंंग प्रत्यारोपण सुरु गर्न सरकारले ‘मानव शरीरको अंग प्रत्यारोपण ऐन–२०५५’ जारी गरेको थियो । वि.सं. २०७२ सालमा ऐनको पहिलो संशोधनपछि मस्तिष्क मृत्यु भएका व्यक्तिबाट जीवित व्यक्तिमा अंगदान गर्न पाउने नयाँ व्यवस्था मिलाएको छ । कार्यक्रममा कोशी प्रदेशकी स्वास्थ्य सचिब डा.सुधा देवकोटा, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेललगायतले बोलेका थिए ।