२०८१ पुस १५, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजाजरकोटको भेरी नगरपालिकाका स्वास्थ्यकर्मीले पाएनन् सात महिनादेखि तलब

जाजरकोटको भेरी नगरपालिकाका स्वास्थ्यकर्मीले पाएनन् सात महिनादेखि तलब


वीरेन्द्रनगर—जाजरकोटको भेरी नगरपालिकाका स्वास्थ्यकर्मीले सात महिनाको तलब भत्ता पाउन सकेका छैनन् । नगरपालिकाका कार्यरत संघीय सरकारबाट खटिएका स्वास्थ्यकर्मीहरुले सात महिनाका तलब भत्ता पाउन सकेका छैनन् ।

नगरपालिकामा ३७ जना स्थायी र २१ जना करार गरी जम्मा ५८ जना स्वास्थ्यका कर्मचारीहरू रहेका छन् ।

लामो समयसम्म तलब नपाउँदा कर्मचारीहरुको काममा ध्यान केन्द्रीत हुन नसकेको भेरी नगरपालिकामा कार्यरत स्वास्थ्य निरीक्षक निशा थापाले बताइन् । ‘कर्मचारीहरुको ध्यान काममा भन्दा तलबमा रहेको छ,’ उनले भनिन्, ‘समयमा तलब नआउँदा बैंकबाट ऋण लिएर केही कर्मचारीहरूले काम चलाइरहेका छन् ।’

पालिकामा दरबन्दीभन्दा ९ जना कर्मचारी धेरै भएको कारण पनि यस्तो समस्या आएको हुन सक्ने निरीक्षक थापाले बताइन् । ‘दरबन्दीभन्दा धेरै कर्मचारी भएपनि हाजिर लगाउनु हामी तलब हाल्दिन्छौं भने पनि सात महिनादेखि तलब पाएका छैनौं,’ उनले भनिन्, ‘तलब नपाउँदा ऋण काढेर घर खर्च चलाउनुपर्ने बाध्यता छ ।’

स्थानीय सरकारमा काम गरिरहेपनि संघअन्तर्गतका कर्मचारी भनेर यस बारेमा पालिकाले कुनै चासो नदेखाएको भेरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खेम पुनले बताए । ‘यति लामो समयसम्म पनि पालिकामा कार्यरत कर्मचारीले तलब नपाउँदा पालिकाले चासो देखाउनुपर्ने हो,’ उनले भने ।

संघीय सरकारका कर्मचारी भएका कारण संघले तलब दिनुपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले बताए । ‘नगरपालिकाबाट बारम्बार संघमा पत्र पठाएको भए पनि संघले कुनै पनि जवाफ दिएको छैन्,’ उनले भने, ‘तर, संघीय सरकारबाट कुनै जवाफ आएको छैन् ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ