२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशडोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

डोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा


वीरेन्द्रनगर—डोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । शनिबार जिल्ला सदरमुकाम दुनैमा देशको ७२ औं जिल्लाको रुपमा डोल्पा पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा भएको हो ।

राष्ट्रिय लक्ष्यअनुरुप जिल्लाका आठ वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएसँगै जिल्ला पनि घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा. रत्नवीर सुनारले जानकारी दिए । ‘सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ,’ उनले भने, ‘जिल्लाका सबै स्थानीय तहमा रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको छन् ।’

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्नेशनालयका प्रतिनिधि लक्ष्मीप्रसाद भट्टराईले पूर्ण खोप सुनिश्चित घोषणा गरेका थिए । ‘सुनिश्चिततासहित पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ,’ उनले भने, ‘रोग नियन्त्रण गरी स्वस्थ नागरिक निर्माण गर्ने उपायहरुमध्ये खोपको प्रयोग महत्वपूर्ण रहेको छ ।’

खोप एउटा प्रभावकारी कार्यक्रमले निश्चित रोगहरु लाग्नबाट सुरक्षा प्रदान गर्ने भट्टराईले बताए । ‘खोप कार्यक्रमले करिब २५ प्रतिशत बाल मृत्यु घटाउन तथा ठूलो संख्यामा रोग तथा अपांगता हुनबाट जोगाएको छ,’ उनले भने, ‘खोपको माध्यमबाट नै अन्य रोग पनि शुन्यमा झार्ने सरकारी लक्ष्य रहेको छ । खोपकै माध्यमबाट विफरजस्तो डरलाग्दो रोगलाई सदाका लागि संसारबाट बिदा गरिएको छ र पोलियो रोगसमेत विदाइ हुने अवस्थामा छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ