काठमाडौं—त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को प्राध्यापक पद खोस्ने निर्णय विरुद्ध उच्च अदालत पाटन पुगेका डा. रवीन्द्रप्रसाद श्रेष्ठ र डा. टुमाया घलेको रिट अदालतले खारेज गरिदिएको छ । १० जेठ २०८० मा उच्च अदालत पाटनका न्यायाधीसद्वय सुवास पौडेल र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले उनीहरुको रिट खारेज गरिदिएको हो ।
९ वर्षपछि प्राध्यापक पद खोसिएपछि डा. श्रेष्ठ र डा. घलेले ६ कात्तिक २०७९ मा पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । तर, उक्त रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले उनीहरुको अन्तरि आदेश दिएको थियो ।
तर, १० जेठमा उक्त रिटमाथि अन्तिम फैसला गर्दै रिट खारेज गरिदिएको हो । पोखरास्थित गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डा. श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा. घलेको प्राध्यापक पदमाथि अख्तियारमा उजुरी परेपछि छानविन गरेको थियो । सोही छानविनमा उनीहरुले सह—प्राध्यापक नभएरै एकै पटक प्राध्यापकको उपाधि लिएको पाइएपछि आईओएमले ९ वर्षपछि प्राध्यापक पद खारेज गरिदिएको थियो ।
अख्तियार वि.सं. २०७९ साउन ८ को निर्णयअनुसार चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले २२ भदौं २०७९ मा डा. श्रेष्ठ र डा. घलेलाई पत्र पठाएर प्राध्यापक पद खारेज गरिएको जानकारी दिएको हो । आईएओमले वि.सं. २०७१ साउन ४ देखि लागु हुने गरी डा. श्रेष्ठ र डा. घलेलाई प्राध्यापक पद दिएको थियो । हाडजोर्नी विशेषज्ञ डा. श्रेष्ठ र डा. घले वि.सं. २०७० बैशाख २ देखि उप—प्राध्यापक पदमा कार्यरत थिए ।
तर, प्राध्यापक हुनका लागि सह—प्राध्यापक हुनुपर्ने मापदण्ड पूरा नगरेर उनीहरु सिधैं प्राध्यापक भएका थिए । प्राध्यापक पद प्रमाणिकरण गर्दा त्रुटिपूर्ण भएको भन्दैं आईओएमले उनीहरु दुुवै जनालाई पुनः उप—प्राध्यापक पदमै कायम भएको जानकारी दिएको थियो ।
अदालतले नै प्राध्यापक पद खारेज गर्ने आईओएमको निर्णय सही भएको फैसला सुनाएको एक महिना बितिसक्दा पनि गण्डकी मेडिकल कलेजको बेबसाइटमा डा. श्रेष्ठ प्राध्यापक र प्रिन्सिपल भएको उल्लेख छ । यस्तै, डा. घलेलाई प्राध्यापककै रुपमा इन्टर्न कोर्डिनेटरका रुपमा बेवसाइटमा राखिएको छ ।