विराटनगर—रतुवामाई नगरपालिका मोरङका १० वर्षीय सागर श्रेष्ठको जीवन र दैनिकी अहिले फेरिएको छ । आँखामा जन्मजात मोतियाविन्दुको समस्या भएका कारण टाढाको वस्तु देख्न र पढ्न नसक्ने सागरले अहिले सबै कुरा प्रस्ट देख्न थालेका छन् ।
मुनाल आदर्श विद्या सदनमा चौथो कक्षामा अध्ययनरत सागरको नेपाल नेत्रज्योति संघको पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत संचालित विराटनगर आँखा अस्पतालले आँखाको निःशुल्क शल्यक्रिया गरिदिएपछि उनको दैनिकी फेरिएको हो ।
सामान्य कृषि पेशामा आवद्ध उनको परिवारलाई उनको आँखामा समस्या देखिएपछि उनको कसरी उपचार गर्ने भन्ने चिन्ताले सताएको थियो । तर, अस्पताल आएर सबै कुरा बताएपछि अस्पतालले नै उनको निःशुल्क शल्यक्रिया गरिदिएको हो ।
सिबिएमको आर्थिक सहयोगमा सञ्चालित सामुदायिक पहुँच र पुनर्वास कार्यक्रम अन्तर्गतको विद्यालयमा आँखा र कान जाँचमा आँखा परीक्षण गर्दा सागरको दायाँ आँखामा मध्यम दृष्टि कमजोरी थियो । आँखा स्वास्थ्यकर्मीले उनलाई रिपोर्ट दिएर त्यो रिपोर्ट परिवारलाई दिन र नजिकैको आँखा अस्पतालमा परामर्श गर्न सुझाएका थिए । त्यसपछि उनका घरपरिवारले उनलाई उपचारका अस्पताल ल्याएका थिए ।
‘उनको आँखामा जन्मजात मोतियाविन्दु भएकाले उसलाई आफ्नो आँखाले कतिसम्म प्रष्ट देख्छ कति टाढासम्मको कुरा पढ्न र देख्न सकिन्छ भन्ने कुरा थाहा नै थिएन । जसका कारण उसलाई मेरा आँखामा समस्या वा कमजोर छ भन्ने कुरा थाहा हुने पनि कुरै भएन्,’ सागरको उपचारमा संलग्न नेत्र विशेषज्ञ डा. पवन श्रेष्ठले भने, ‘यही कारणले हो नियमित रुपमा आँखाको परीक्षण गर्नुपर्छ । कतिपय समस्या थाहा नपाएरैं बिरामीहरुले समस्यालाई झेलिरहेका छन् ।”
अस्पतालको मेडिकल डाइरेक्टर डा. रक्षा पन्त सिटौलाले कुनै पनि नागरिकहरु उपचारबाट बञ्चित हुनु नपरोस् भनेर अस्पतालले विभिन्न संघसंस्था र निकायहरुसँगको सहकार्यमा विभिन्न ठाँउहरुमा निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको र अस्पताल आउने बिरामीहरु पनि आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनु नपर्नेसमेत बताइन् ।