काठमाडौं—काठमाडौं महानगरपालिकाले स्वास्थ्यतर्फ ९२ करोड ६६ लाख बजेट छुट्याएको छ । आइतबार महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ लागि २५ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएको हो ।
नगरसभाको बैठकमा उपमेयर सुनीता डंगोलले प्रस्तुत गरेको बजेटमा स्वास्थ्यतर्फ ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरिएको छ । ‘महानगरको समग्र स्वास्थ्य कार्यक्रमतर्फ रु. ९२ करोड ६६ लाख ४४ हजार बिनियोजन गरेको छु,’ उपमेयर डंगोलले भनिन् ।
काठमाडौं महानगरपालिकाभित्रका सहरी स्वास्थ्य क्लिनिकहरुको स्तरोन्नतीसहित स्वास्थ्य प्रवर्द्धनमा रुपान्तरण गरी ‘महानगरवासीका लागि सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ योजनामार्फत सरल र सुलभ उपलब्ध गराउन ३५ करोड रकम विनियोजन गरिएको छ । यसैगरी, महानगरवासीलाई सहुलियत मुल्यमा औषधि उपलब्ध गराउनका लागि ‘सुलभ फार्मेसीको स्वर्णिम योजना’ कार्यन्वयन गर्न ६ करोड विनियोजन गरिएको उपमेयर डंगोलले बताइन् ।
यस्तै, महानगरले ध्यान, योग, व्यायाम एवं वैकल्पिक तथा परम्परागत आयुर्वेदिक उपचार पद्धतिका माध्यमबाट आरोग्य जीवन सम्बन्धि कार्यक्रम संचालनका लागि आवश्यक बजेटका प्रबन्ध गरेको छ । बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पतालसँगको सहकार्यमा एक ‘निर्दिष्ट नगर अस्पताल’ संचालनमा ल्याउन १० करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै, नेपालका विभिन्न गाउँपालिकाका लागि मागको आधारमा ३५ वटा एम्बुलेन्स खरिद गरी उपलब्ध गराउन ७ करोड रकम महानगरले छुट्याएको छ भने काठमाडौं महानगरपालिकाको सहयोगमा संचालित एम्बुलेसन्स सेवा १०२ हटलाइन संचालन गर्न १ करोड ४४ लाख बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षमा महानगरभित्रका व्यक्तिगत तथा संस्थागत भान्छाहरुलाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न ‘स्वच्छ भान्सा’ कार्यक्रमका लागि ३ करोड ५० लाख रकम विनियोजन गरिएको छ ।
शिक्षातर्फ ‘एक सामुदायिक विद्यालय, एक नर्स’ र ‘एक सामुदायिक विद्यालय, एक सामाजिक सहकर्ता’को व्यवस्था गर्न आवश्यक प्रबन्ध मिलाएको उनले जानकारी दिइन् । विद्यालयको ब्युटिफिकेसनका लागि ५ करोड छुट्याइएको उनले जानकारी दिइन् ।