२०८१ माघ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअनुसन्धान भन्छ-‘४ प्रतिशत बालबालिकामा दृष्टि दोषको समस्या छ’

अनुसन्धान भन्छ-‘४ प्रतिशत बालबालिकामा दृष्टि दोषको समस्या छ’


काठमाडौं—नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा संचालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरु लाभान्वित भएका छन् । परिक्षण गरिएकामध्ये ४ प्रतिशत बालबालिकाहरुमा दृष्टि दोषको समस्या देखिएको छ ।

अर्विसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले संचालन गरेको उक्त परियोजनामार्फत झापा मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका ७ लाख ८५ हजार ४६० जना बालबालिकाको निःशुल्क आँखा परिक्षण गरिएको थिययो ।

सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजना मार्फत ६ देखि १८ वर्षसम्मका विद्यालय जाने र नजाने बालबालिकाहरुको आँखा परीक्षण गरिएको थियो । नेपाल नेत्रज्योति संघका कार्यक्रम व्यवस्थापक रन्जन शाह आँखा परीक्षण पश्चात समस्या देखिएका बालबालिकाहरुलाई निःशुल्क चश्मा तथा शल्यक्रियासमेत गरिएको बताउँछन् ।

उक्त परियोजना मार्फत ४ वर्षमा २ हजार ५ सय ५५ वटा निजी तथा सामुदायिक विद्यालयहरुमा आँखा जाँच गरिएको थियो । उक्त जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार ३ सय ८० जना बालबालिकाहरुलाई निःशुल्क चस्मा वितरण गर्नुका साथै २०१ जना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रियासमेत गरिएको शाहले जानकारी दिए ।

उनकाअनुसार आँखा जाँच गरी वितरण गरिएको चश्मामध्ये ६३ प्रतिशत बालबालिकाहरुले मात्र नियमित रुपमा चश्मा प्रयोग गरिरहेका छन् । ‘चश्मा लगाउँदा साथीहरुले जिस्क्याउने, आमाबाबुले छोरीहरुलाई विवाह गर्न कठिनाइ हुने भन्दै चश्मा लगाउन नदिने, चश्मा लगाउँदा सहजता नहुने र लजाउनेजस्ता कारणहरुले पनि बालबालिकाहरुले नियमित रुपमा चश्मा नलगाएको देखिन्छ’ शाहले भने ।

नेपाल नेत्रज्योति संघ आर.एम. केडिया आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ विराटनगर आँखा अस्पताल र मेचि आँखा अस्पताल मार्फत यी जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले कोही पनि नागरिकहरु पहुँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट वन्चित नहुन् भन्ने उद्देश्यले विभिन्न दातृ निकायहरुसँगको सहकार्यमा देशैभरी विभिन्न निःशुल्क शिविरहरु आयोजना गरिरहेको संघका कार्यकारी निर्देशक डा. शैलेसकुमार मिश्र बताउँछन् ।

परियोजनाले कार्यक्रम संचालित जिल्लाका महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक तथा विद्यायलका भिजन एम्ब्यास्डरहरुलाई आँखा जाँच सम्बन्धी आधारभूत तालिमसमेत प्रदान गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ