काठमाडौं—प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समायोजनका कारण नियमित तलब भत्ता नपाएका स्वास्थ्यकर्मीलाई तत्काल तलब भत्ता व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार एमाले स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सो ध्यानाकर्षण गराएको हो ।
स्वास्थ्यमन्त्री बस्नेतलाई एमालेले ११ बुँदे ज्ञापनपत्र समेत बुझाएको छ । सो ज्ञापनपत्रमा फाजिल रहेका, समायोजन नमिलेका सबै स्वास्थ्यकर्मीलाई रिक्त स्थानमा पुनः मिलाई काम गर्ने वातावरण बनाउन समेत आग्रह गरेको छ ।
उसले चिकित्सकलगायत स्वास्थ्यकर्मीहरुको विदेश पलायन रोक्न तत्काल विशेष कार्यक्रम ल्याउनुपर्ने, स्वास्थ्य सेवा ऐन र जनस्वास्थ्य सेवा ऐनको पूर्ण कार्यन्वय गरिनुपर्ने, सरुवा बढुवामा राजनीतिक पूर्वाग्रह नराख्न समेत चेतावनी दिएको छ ।
एमाले स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठ, सचिव महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्यकर्मी महासंध नेपालका अध्यक्ष डा. झलक शर्मा गौतमलगायतका विभागका सदस्यहरुको टोली स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री बस्नेतलाई भेटेको थियो ।
पछिल्लो समय देशका विभिन्न स्थानीय तहका कार्यरत स्वास्थ्यकर्मीहरुले नियमित तलब पाउन सकेका छैनन् । कतिपय स्थानीयका तहका स्वास्थ्यकर्मीले एक वर्षदेखि तलब भत्ता नपाएर काम गरिरहेका छन् । जसका कारण ठाउँ—ठाउँमा उनीहरु आन्दोलनमा उत्रनु परेको छ ।