विराटनगर—सुनसरीको इटहरी उपमहानगरपालिकाले ८१ हजार ३ सय ४२ थान स्यानिटरी प्याड खरिदमा कीर्ते कागजपत्र पेश गरी बढी रकम कबुल गर्ने सप्लायर्सलाई टेण्डर दिएको पाइएको छ । कम मुल्याकन गरी आवेदन हालेको फर्मलाई पाखा लगाएर कीर्ते कागजपत्र पेश गरी ३४ लाख बढी मुल्य हाल्ने सुनसरी धरान—१ को निक्की डिस्ट्रीब्युर्सलाई स्यानिटरी प्याड खरिद गर्ने ठेक्का दिएको पाइएको हो ।
इटहरी उपमहानगरपालिकाले ८१ हजार ३ सय ४२ प्याकेट स्यानिटरी प्याड खरिदको लागि २० बैशाखमा सूचना निकालेको थियो । सूचना जारी भएपछि पाँच वटा फर्मले आवेदन हालेको थिए । जसमा अप्सरा ट्रेडलिंकले ४५ लाख ३ हजार ९ सय ६ रुपैयाँ ५४ पैसा, एन्जल टच हाइजिङ म्यानिफेक्चरिङ प्रा.लि.ले २० लाख ७ हजार ४५५ रुपैयाँ ४९ पैसा, जनहित टे«डर्सले २४ लाख ३९ हजार ४ सय ६२ रुपैयाँ ८५ पैसा र विराट हेल्थकेयर इन्डष्ट्रीज प्रा.लि. बुढीगंगा २ टंकिसिनवारीले १८ लाख ५७ हजार ६३१ रुपैयाँ ६६ पैसा र निक्की डिस्ट्रीब्युर्स धरान १ सुनसरीले ५३ लाख ३१ हजार १५४ रुपैयाँ ६८ पैसामा टेण्डर हालेका थिए ।
टेण्डर हालेको मध्ये सबैभन्दा बढी रकम कबुल गर्ने निक्की डिस्ट्रीब्युर्सले स्यानिटरी प्याड खरिद गर्ने ठेक्का पाएको छ । सबैभन्दा कम मुल्याकन गर्ने विराट हेल्थकेयर इन्डष्ट्रीजको आवेदन रद्ध गरिदिएको छ ।
नगरपालिकाले जारी गरेको सूचनामा स्यानिटरी प्याड माटोमा १८० दिन (६ महिनाभित्र)मा ९० प्रतिशत बायो डिग्रेबल (कुहिने प्याड) हुनुपर्ने उल्लेख गरेको छ । त्यही भएर अन्य चार वटा फर्मको बायो डिग्रेबल स्यानिटरी प्याडको रिपोर्ट नभएको कारण देखाउँदै नगरपालिकाले आवेदन रद्ध गरेको थियो । निक्की डिस्ट्रीब्युर्सले पेश गरेको कागजपत्र स्यानिटरी प्याड बायो डिग्रेबल भनेर पेश गरेको थियो । यसै कारण उसलाई ठेक्का परेको नगरपालिकाले जनाएको छ ।
तर, निक्कीले विराटनगरस्थित उद्योगी पुनित शारडाले संचालन गरेको उद्योग जस्मिन हाइजिन प्रोडक्स प्रा.लि.ले दिएको बायो डिग्रेबलको रिपोर्ट नक्कली पेश गरेको प्रमाण हेल्थ आवाजले फेला पारेको छ ।
कुहिने पद्धार्थ परीक्षण गर्ने ल्याब भारतमा मात्र रहेको छ । भारतको सिपेट पेट्रोकेमिकल्स उन्नत अनुसन्धान स्कुल (एसएआरपी)–एआरएसटीपीएसले दिएको रिपोर्टअनुसार जस्मिन हाइजिन प्रोडक्स प्रा.लि.ले उत्पादन गरेको स्यानिटरी प्याडको मापदण्ड (बायो डिग्रेबल (कुहिने प्याड)का लागि उपयुक्त नभएकोले रिपोर्टमा उद्योगलाई यो रिपोर्ट दिन सम्भव छैन भनेको छ । तर, उद्योगले आफ्नो सप्लायर्सलाई ठेक्का पार्न भारतको ल्याबले दिएको रिपोर्टलाई फोटोसपमार्फत तोडमोड गरेर बायो डिग्रेबल भनेर कागजपत्र पेश गरेको पाइएको छ । (हेर्नुहोस् नक्कली ल्याब रिपोर्ट)
इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले टेण्डर गरेर आशय पत्र निकालेपछि उजुरी आएको बताए । ‘टेण्डर पार्नेलाई फर्मको ओरिजिनल प्रमाणपत्र माग गरिएको छ,’ उनले भने, ‘कीर्ते गरेर कागजपत्र पेश गरेको भेटिए कारवाहीको दायरमा ल्याउनेछौं ।’ अहिले तत्कालको लागि टेन्डर पनि रद्ध गरिएको उनले जानकारी दिए । ‘उजुरी परेपछि अहिले तत्कालको लागि टेण्डर रद्ध गरिएको छ,’ उनले भने ।