विराटनगर—कोशी अस्पतालले जेष्ठ नागरिक, अशक्त, गर्भवतीका लागि टिकट र औषधिको छुट्टै काउण्टर सञ्चालनमा ल्याइएको छ । छुट्टै काउण्टर सञ्चालनमा आएसँगै जेष्ठ नागरिक, अशक्त र गर्भवतीलाई टिकट काट्न र औषधि लिन सहज भएको छ ।
बुधबार काउण्टरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उदघाटन गरेका छन् । सो अवसरमा कोइरालाले तीन तहको सरकारमा जो जुन भूमिकामा भएपनि सबैले जनताले सहज रुपमा सेवा पाउने गरी काम गर्नुपर्नेमा जोड दिए । अस्पतालले सुरु गरेको काउण्टरबाट जेष्ठ नागरिक, अशक्त र गर्भवतीले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गरे ।
काउण्टर सञ्चालनमा आएपछि उनले पहिलो टिकट सुनसरीको इनरुवाका विर्खबहादुर सुवेदीलाई हस्तान्तरण गरे । मेयर कोइरालाले अस्पतालले सञ्चालनमा ल्याउन लागेको एनआईसीयु कक्ष र आकस्मिक कक्षको निरीक्षण गरे ।
सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई, सदस्य मुकेश बुढाथोकी, निमित्त मेसु डा. रविराज सिंहलगायतको उपस्थिति रहेको थियो ।