काठमाडौं—वरिष्ठ ग्यास्ट्रो सर्जन डा. सुनिलकुमार शर्माको टिमले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बाट पनि सेवा दिन सुरु गरेको छ । डा. शर्मा नेपाल मेडिसिटी अस्पतालको ग्यास्ट्रो सर्जरी विभागका प्रमुख हुन् ।
आइतबारबाट शर्माको टिम ओम अस्पताल ज्वाइन गरेको अस्पतालमा जनसम्पर्क अधिकारी विनोद अधिकारीले जानकारी दिए । ‘उहाँको टिमले आइतबारबाट ओम अस्पतालमा ज्वाइन गरेको हो,’ उनले भने, ‘अब जिआई युनिटको लिड उहाँले गर्नुहुन्छ ।’ डा. शर्मा ओम अस्पतालमा प्रिन्सिपल कन्सल्ट्यान्टका रुपमा कार्यरत रहनेछन् ।
डा. शर्मासँगै उनको टिमका वरिष्ठ जीआई सर्जन डा. प्रनिल राई, अमेरिकन बोर्ड सर्टिफाइड बरिष्ठ कोलोरेक्टल तथा रोबोटिक सर्जन डा. सत्यदिप भट्टाचार्य, कन्सल्ट्यान्ट सर्जन. हर्निया बिशेषज्ञ तथा हर्निया फेडरेसनका सदस्य डा. निर्वाण राई र कन्सल्ट्यान्ट जिआई सर्जन डा. सुबोध घिमिरे ओम हस्पिटल ज्वाइन गरेका हुन् ।
यसअघि यो टिमले स्टार अस्पतालबाट समेत सेवा दिइरहेको थियो । डा. शर्माले आफूले साँझमात्रै ओम अस्पतालमा सेवा दिने बताए । ‘म र मेरो टिमले साँझको समयमा ओम हस्पिटलमा सेवा दिन थालेका हो,’ डा. शर्माले हेल्थआवाजसँग भने, ‘नेपाल मेडिसिटीमा म फुलटाइम नै काम गर्छु । यहाँ दुई जना विद्यार्थीहरु पढिरहेका छन्, उहाँहरुको पढाइ त्यतिकै छाडेर जाने कुरा हुँदैन् ।’