काठमाडौं—एक वर्षअघि बुटवल उपमहानगरपालिका—१३ का लोकबहादुर थापाको स्वास्थ्यमा जटिलता देखा पर्न थाल्यो । पहिले उनको कालो दिशा हुने र दिशामा रगत देखिन थाल्यो । केही दिनमै वान्तामा पनि रगत आउन थाल्यो । उनी त्यसपछि नजिकैको गौतम वुद्ध मुटु अस्पताल गए ।
गौतम वुद्ध मुटु अस्पतालमा उनको उपचार सुरु गरियो । एक हप्ता त्यहाँ उपचार गर्दा बिसेक भएन । त्यसपछि अस्पतालले काठमाडौं वा अन्य कुनै ठूलो अस्पतालमा लैजान सुझाव दियो । ३१ वर्षीय लोकबहादुरलाई उनको परिवारले भैसेपाटीस्थित मेडिसिटी अस्पताल ल्यायो । मेडिसिटीमा भर्ना गरेर उपचार प्रक्रिया अगाडि बढाइयो ।
केही समय अस्पतालमा उपचार गरेपछि उनी डिस्चार्ज भए । अस्पतालले फ्लोअपमा बोलायो । पटक—पटक फ्लोअप गर्दै ६—७ महिना बित्यो । तर, स्वास्थ्यमा खासै सुधार देखिएन । बरु, समस्या बल्झिन थालेपछि गत वर्षको पुसमा उनको एमआरआई गरियो । ‘एमआरआईमा कलेजोमा ट्युमरजस्तो देखियो,’ उनले भने, ‘त्यसपछि कलेजोको थप उपचारका लागि नयाँदिल्ली गयौं ।’ चिकित्सकहरुले कलेजोमा इन्फेक्सन भएको र पहिलेकोभन्दा बढेको भनेपछि उनी परिवारसहित नयाँदिल्ली गए ।
नयाँदिल्लीस्थित म्याक्स हस्पिटलमा उनको उपचार सुरु भयो । त्यहाँ एक हप्ता बसे । त्यस क्रममा उनको सिटी स्क्यानलगायतका सबै परीक्षण गरिए । ‘४ जना गएका थियौं । सबै गरेर झण्डै ९—१० लाख रुपैयाँ खर्च भयो,’ लोकबहादुरका भिनाजु तारक रानाले भने, ‘भर्ना गरेर एक हप्ता राख्यो, केमो पनि दिइयो ।’ म्याक्सका चिकित्सकहरुले लोकबहादुरको कलेजो बिग्रेकाले प्रत्यारोपण गर्न निष्कर्ष उनको परिवारलाई सुनाए । ‘उहाँहरुले एक महिनापछि कलेजो प्रत्यारोपण गर्नुपर्ने र डोनरसहित आउनका लागि समय दिनुभयो,’ तारकले थपे ।
लोकबहादुरलाई घर फर्काइयो । उनको रगतलगायतका परीक्षणहरु गरिरहनुपथ्र्यो । त्यही क्रममा बुटवलको एक प्रयोगशालामा आउने—जाने भइरहन्थ्यो । ‘त्यो प्रयोगशालामा काम गर्ने एक जना भाइको बुवाको पनि कलेजो प्रत्यारोपण गरिएको रहेछ । उहाँका त्रिवि शिक्षण अस्पतामाल प्रत्यारोपण गर्नुभएको रहेछ,’ लोकबहादुर दिदी गंगा रानाले सुनाइन्, ‘उहाँले तपाईहरु पनि त्रिवि शिक्षण अस्पतालमा देखाउनुहोस् । यही हुँदा सजिलो हुन्छ भन्नुभयो ।’ त्यसअघि लोकबहादुर र उनको परिवारलाई त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने थाहै थिएन । ‘हामीले पहिले नै थाहा पाएको भए न यति पैसा खर्च हुन्थ्यो, न त दुःख नै हुन्थ्यो,’ गंगाले थपिन् ।
त्रिवि शिक्षणमै कलेजो प्रत्यारोण हुने थाहा पाएपछि उनीहरु बुटवलबाट काठमाडौं आए । त्रिविको ग्यास्ट्रो सर्जरी विभागमा ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीलाई भेटे । डा. भण्डारीले लोकबहादुर सबै परीक्षण रिपोर्टहरु हेरे । ‘सबै रिपोर्ट हेरेपछि उहाँले ढुक्क हुनुहोस्, हामी यही प्रत्यारोपण गर्छु भन्नुभयो,’ तारकले भने, ‘त्यसपछि हामी पनि ढुक्कसँग तयारीमा लाग्यौ ।’
त्रिवि शिक्षण अस्पतालमा लोकबहादुर कलेजो प्रत्यारोपण तयारी अगाडि बढाइयो । कलेजो दान गर्ने व्यक्तिको खोजी गर्दा लोकबहादुरकी ३० वर्षीया श्रीमतीकै कलेजो प्रत्यारोपण गर्न सकिने भयो । सबै परीक्षणमा लोकबहादुरकी श्रीमती पनि फिट देखिइन् । नाता प्रमाणितलगायतका कामहरु सक्न थप केही समय लाग्यो ।
१ बैशाखमा लोकबहादुरको कलेजो प्रत्यारोपण गर्ने डेट अस्पतालले दियो । तर, त्यसदिन प्राविधिक कारणले कलेजो प्रत्यारोपण हुन सकेन । त्यसपछि पाँच दिनपछि अर्थात ५ बैशाखमा डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले त्रिवि शिक्षणमा १० औं कलेजो प्रत्यारोपणका रुपमा लोकबहादुरको कलेजो प्रत्यारोपण ग¥यो ।
लोकबहादुरको कलेजो प्रत्यारोपण सफल भयो । त्यसको केही दिनमै उनकी श्रीमती डिस्चार्ज भइन् । २७ बैशाखमा लोकबहादुर पनि डिस्चार्ज भए । उनी अहिले ठूलो सर्जरीबाट रिकभरी फेजमा छन् । भन्छन्, ‘अहिले सबै राम्रो भइरहेको छ । सामान्य हिडडुल, खानपिनमा सहज छ ।’ काठमाडौंमा बसेर स्वास्थ्य लाभ गराइरहेका उनका एक छोरा र एक छोरी छन् ।
बुटवलमा सामान्य किराना पसल गरिरहेका लोकबहादुरको जानकारीको अभावमा झण्डै ८० लाख हाराहारीमा उपचारमा खर्च भयो । ‘हामीले सुरुमै त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने थाहा पाएको भए आधाभन्दा थोरै पैसामा उपचार सकिने रहेछ,’ लोकबहादुर दिदी गंगा भन्छिन्, ‘थाहा नहुँदा झण्डै ८० लाख जति पैसा खर्च भयो, दुःख पनि त्यति नै पाइयो ।’ सुरुमै त्रिवि शिक्षण अस्पतालमा आएको भए उनको प्रत्यारोपण ३५—३६ लाखमै हुने थियो । नेपालमा सबै कुराले भाइको कलेजो प्रत्यारोपण सहज भएको उनले सुनाइन् । भन्छिन्, ‘डा. केही परेमा फोन गर्न आफ्नै नम्बर दिनुभएको छ, हामी उहाँहरुप्रति निकै आभारी छौं ।’