काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले महिलाको पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेस गर्न माग गरेकी छन् । आइतबार नीति तथा कार्यक्रममाथि संसदको शुन्य समयमा बोल्दैं उनले एचपीभी भ्याक्सिनलाई चाडोभन्दा चाडो राष्ट्रिय खोप कार्यक्रममा समावेस गर्न माग गरेकी हुन् ।
‘पाठेघरको मुखको क्यान्सर उन्मुलन गर्न राज्यले जनचेतना बढाउने र राष्ट्रिय खोप कार्यक्रममा एचपीभी भ्याक्सिनलाई चाडोभन्दा चाडो समावेस गरियोस् भनेर यहाँमार्फत सम्बन्धित पक्षसँग जोडदार माग राख्न चाहन्छु,’ सांसद कार्कीले भनिन्, ‘यसो भए विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म यस क्यान्सरबाट मुक्त हुन लिएको लक्ष्यमा हामी पनि पुग्न सक्छौं ।
महिलाहरुमा हुने पाठेघरको मुख सर्भाकल क्यान्सरको समयमै पहिचान र उपचार गर्नु अति आवश्यक रहेको उनका भनाइ थियो । ‘राज्यले यसका लागि अझै पनि मास क्लिनिङ कार्यक्रममा नराखेको र भ्याक्सिनको व्यवस्था पनि नगरेकाले हामी कहाँ हरेक वर्ष २३ सय नयाँ महिलाको यो क्यान्सरको शिकार भइरहेका छन् र १५ सय महिला यो रोगबाट वर्षेनी ज्यान गुमाइरहेका छन्,’ उनले भनिन्, हामीले महिलाको यो पीडा सुन्ने कि नसुन्ने ? यो भ्याक्सिनले यस्तो मृत्युदरलाई ३५ प्रतिशतसम्म कम गर्न सक्छ ।’
सांसद डा. कार्कीले राज्यले यसबारेमा गत वर्षको आफ्नो नीति तथा कार्यक्रममा बोलेपनि यसको कार्यन्वयन नगरेको बताइन् । ‘स्वास्थ्य संविधान प्रदत्त मौलिक अधिकार हो तर पनि यो अधिकार किन बाम्बार माग गरिरहनुपरेको मैले बुझेको छैन् ?,’ उनले प्रश्न गरिन् ।