काठमाडौं—सरकारले तिलगंगा आँखा प्रतिष्ठानले उत्पादन गरिरहेको ‘इन्ट्राअकुलर लेन्स’ लाई विश्व बजारमा ब्राण्डिङ गर्ने भएको छ । नीति तथा कार्यक्रममार्फत सरकारले तिलगंगाले उत्पादन गरिरहेको आँखाको लेन्सलाई विश्व बजारमा ब्राण्डिङ गर्ने उल्लेख गरेको छ ।
‘स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धिका लागि ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग पु¥याइनेछ,’ शुक्रबार संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले भने, ‘यी अभियानअन्तर्गत हिमालको पानी प्रशोधनसहितको व्यवसायिक उत्पादन र तिलगंगा आँखा अस्पतालबाट उत्पादिन लेन्सलाई विश्व बजारमा ब्राण्डिङ गरिनेछ ।
तिलगंगाले सन् १९९७ बाट सस्तो मुल्यको आँखाको लेन्स उत्पादन थालेको हो । यसबीचमा ४५ लाख बढी लेन्स उत्पादन गरिसकेको छ । सुरुमा दैनिक १५ सय उत्पादन हुँदैं आएको अहिले त्यो बढेर १८ सय पुगेको छ ।
अहिले तिलगंगाको विश्वस्तरीय सफलता पाइरहेको छ । तिलगंगाले उत्पादन गर्ने लेन्स बेलायतको एसजीएस कम्पनीबाट आइओएस सर्टिफाइड छ । ‘आइओएल’मा बेलायतबाट आइओएस मार्क पाउने तिलगंगा दक्षिण एसियाकै तेस्रो हो ।
सबै वस्तुहरुमा परनिर्भर बनिरहेको नेपालजस्तो तेस्रो विश्वको गरिब देशबाट ४० लाख बढी लेन्स बेलायत, अमेरिका, क्यानडालगायतका पहिलो विश्वका मुलुकका नागरिकलाई उज्यालो संसार दिन सहयोगी भइरहेका छन् ।