काठमाडौं—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)को रेक्टर (शिक्षाध्यक्ष)का लागि तीन जनाको नाम सिफारिस भएको छ । शुक्रबार प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई प्रतिष्ठानका तीन जना सहप्राध्यापकहरुको नाम नयाँ रेक्टरका लागि सिफारिस गरेका हुन् ।
जसमा स्त्री रोग विशेषज्ञ डा. राजीव साह, माइक्रोबायोलोजिष्ट डा. माया राई र छाती रोग विशेषज्ञ डा. अनुस्मृति पाल रहेका छन् । ‘वर्षौदेखि प्रतिष्ठानमा कार्यरत रहेका चिकित्सकहरुबाटै सन्तुलित ढंगलबाट हामीले तीन जनाको नाम रेक्टरका लागि सिफारिस गरेका छौं,’ प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने, ‘प्रतिष्ठानमै सेवा गरेकालाई प्राथमिकता दिएका छौं । त्यसले त्यहाँका चिकित्सकहरुलाई काम गर्न उत्साहित बनाउने विश्वास छ ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनको दफा २१ (१) मा उपकुलपतिले रेक्टरका लागि तीन जनाको नाम सहकुलपतिलाई सिफारिस गर्ने र त्यसबाट सहकुलपतिले रेक्टर नियुक्ति गर्ने व्यवस्था छ । मन्त्री बस्नेतले सिफारिस भएरका तीन जनाबाट एक जनालाई रेक्टर नियुक्त गर्नेछन् ।
रेक्टरका लागि सिफारिस भएका डा. साह लामो समयदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ हुन् । प्रतिष्ठान अस्पतालका निर्देशकसमेत भइसकेका उनी कर्णालीमा राम्रो पहिचान बनाएका स्त्री रोग विशेषज्ञ मानिन्छन् । ‘रेक्टरका लागि नाम गएको छ । अस्पताललाई राम्रो बनाउन एक किसिमको भूमिका निर्वाह गरे,’ डा. साहले भने, ‘जिम्मेवारी पाएपछि प्रतिष्ठानको एकेडेमिक वातावरणलाई पनि राम्रो बनाउन भूमिका खेल्छु ।’
सन् २०१९ देखि प्रतिष्ठानका कार्यरत डा. राई माइक्रोबायोलोजीकी सहप्राध्यापक हुन् । ‘रेक्टरका लागि सिफारिस भएको भन्ने सुनेको छु,’ डा. राईले हेल्थआवाजसँग भनिन्, ‘जिम्मेवारी पाएपछि प्रतिष्ठान शैक्षिक गतिविधी राम्रो बनाउन आफ्नो लेभलबाट भूमिका खेल्छु ।’
रेक्टरको सिफारिसमा परेकी पश्चिम नेपालकी एक्ली छाती रोग विशेषज्ञ डा. पालकै अगुवाईमा प्रतिष्ठानले ब्रान्कोस्कोपी सेवा संचालन गरिरहेको छ । डा. पालले रेक्टरको भूमिका एकेडेमिक काममा रहने भएकाले आफूले त्यसमा राम्रो गर्ने योजना रहेको बताइन् । ‘रेक्टरले हेर्ने भनेको एकेडेमिक पाटोलाई नै हो,’ उनले भनिन्, ‘कर्णालीजस्तो ठाउँमा पढ्ने चिकित्साशास्त्रका विद्यार्थीलाई हामीले जुनसुकै ठाउँमा गएर पनि कम्पिट गर्ने तरिकाले अध्यापन गराउनुपर्ने दायित्व छ, रेक्टर भएमा त्यो दायित्व पूरा गर्छु ।’
१ बैशाखदेखि प्रतिष्ठानका तत्कालीन रेक्टर डा. निरेश थापाको व्यक्तिगत कारण देखाउँदैं रेक्टरबाट राजीनामा दिएपछि उक्त पद खाली छ । मन्त्रालय स्रातेकाअनुसार तीन जनामध्ये डा. साह रेक्टरमा नियुक्त हुने सम्भावना प्रबल छ । उनी मन्त्री बस्नेतको रोजाइका पात्र हुन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको रोजाइमा भने डा. राई छन् । यसअघि प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीकै राय बाँझिएपछि डडेल्धुरा अस्पतालमा दुई अध्यक्ष नियुक्त भएका थिए ।