विराटनगर—कोशी प्रदेश सरकारले आङ खस्ने महिलाको निःशुल्क उपचार सुरू गरेको छ । पहाडी र तराईको जिल्लाको ग्रामीण क्षेत्रमा आङ खस्ने रोगको समस्याले महिलाहरू ग्रसित भएपछि प्रदेश सरकारले निःशुल्क उपचार सेवा सुरू गरेको हो ।
तराईका जिल्लाहरुलाई लक्षित गरी २२ वैशाखबाट विराटनगरस्थित विराट नर्सिङ होमसँग सम्झौता गरेर आङ खस्ने महिलाहरुको निःशुल्क उपचार गर्न सुरू गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
स्वास्थ्य प्रदेश निर्देशनालयसँग सम्झौता गरेपछि विराट नर्सिङ होमका स्वास्थ्यकर्मीहरु गाउँ–गाउँमा गएर स्क्रिनिङ्ग गर्ने र आङ खस्ने समस्या भएका बिरामीलाई हस्पिटलमा ल्याएर निःशुल्क शल्यक्रिया गर्ने अभियान सुरू गरेको उनले बताए । ‘प्रदेश सरकारसँगको सहकार्य गरेर यो अभियान सुरू भएको हो,’ बस्नेतले भने, ‘एक वर्षसम्म आङ खस्ने महिलाहरुको विराटमा निःशुल्क शल्यक्रिया हुने गरेको छ ।’
विराट नर्सिङ होममा आङ खस्ने महिलाहरुको उपचार गर्ने स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीसहितको १० जनाको टिम रहेको छ । एक जना बिरामीको शल्यक्रिया गरी उपचार गरेको १२ हजार ५ सय रुपैयाँ विराटले पाउने उनले बताए । शल्यक्रिया गरेपछि डिचार्ज हुने हिमाली जिल्लाका महिलाले १ हजार पाँच सय, पहाडि जिल्लाकाले १ हजार र तराईका जिल्लाकाले पाँच सय रुपैयाँ यातायात खर्च पनि पाउने उनले बताए । विराटबाहेक धनकुटा, तेह्रथुम, उदययुर र मेची अस्पतालमा पनि आङ खस्ने बिरामीको उपचार हुने गरेको उनले बताए ।
उपचार पाएका बिरामी भन्छन्, ‘नयाँ जीवन पायौ’
सुनसरीको चकरघटीकी ३६ वर्षीया कल्पना भारतीले विराटनगरस्थित विराट नर्सिङ्ग होममा पाठेघरको शल्यक्रिया गरेपछि शरीर हलुङ्गो भएको महसुस गरेकी छिन् । ‘पाठेघरको शल्यक्रिया गरेपछि हलुको भो । रोगले थला पारेको थियो,’ शल्यक्रियापछि उनले आफ्नो अनुभव बाँडिन्, ‘निःशुल्क शल्यक्रियापछि अहिले शरीर हलुका भएको महसुस भएको छ ।’
पाँच वर्षदेखि पाठेघर खस्ने समस्याले ग्रसित भएको उनले सुनाइन् । ‘लाज मान्ने बानीले गर्दा न आफ्नो समस्या परिवारलाई भन्न सकेकी थिएँ । न पटक–पटक गाउँघरमै पुग्ने स्वास्थ्यकर्मीलाई नै भन्न सकेकी थिए ।समस्याले ग्रसित पार्दै गएपछि थला परेकी हुँ,’ शल्यक्रियापछि उनले भनिन्, ‘उपचारपछि स्वास्थ्य सहज अनुभव भएको छ । पाठेघर खस्ने समस्याले सार्वजनिक भेलामा जानसमेत समस्या हुन्थ्यो । अब सहज हुने आशा लिएकी छु ।’
सुनसरी इनरुवा ७ की ६४ वर्षीया जलेश्वरी देवी खत्रीको पनि पाठघेरको शल्यक्रिया २४ वैशाखमा भयो । १६ वर्षकै उमेरमा बिहे गरेर बर्षेनी सन्तान जन्माउँदा पाठेघर खस्ने समस्याबाट पीडित बनेकी उनले समयमै गतिलो उपचार नपाउँदा वर्षैदेखि कष्टपूर्ण जीवन व्यतीत गरिरहेकी थिइन् । पाँच सन्तानकी आमा खत्रीको विराट नर्सिङ होममा पाठेघरको सफल शल्यक्रियापछि उनले पुनर्जीवन पाएको महसुस गरेकी छन् ।
खत्री र कल्पना जस्तै पाठेघरको समस्या भएकी सुनसरी भोक्राहाकी ८५ वर्षीया खुसीदेवी मेहताले लाजले गर्दा उपचारका लागि स्वास्थ्य संस्था नगएको बताइन् । तर, गाउँ नजिकै केही समयअघि स्वास्थ्य शिविर बसेको र त्यहाँ महिला डाक्टर आएका छन् भन्ने थाहा पाएपछि उनले उपचार गराइन् ।
१६ वर्षकै उमेरमा विवाह गरेर १८ वर्षको उमेरमा बच्चा जन्माएकी मेहता ५ सन्तानकी आमा हुन् । उनले लाजले गर्दा लामो समयसम्म कसैसँग आफ्नो समस्या नसुनाएको बताइन् । ‘पीडा सहेरै बसेकी थिएँ, केही समयअघि गाउँमा शिविर आएको थाहा पाएपछि उपचारका लागि त्यहाँ गएँ’, उनले भनिन्, ‘डाक्टर साबले रिङ प्रेसरी राखिदिनुभएको छ । त्यसले पनि ठीक नभए अप्रेसन गरेर फाल्नुपर्छ भन्नुभयो । अहिले केही बिसेक भएको छ ।’ आफ्नो गाउँका धेरैजसो महिलालाई आङ खस्ने समस्या रहेको उनले बताइन् ।
चिकित्सककाअनुसार ‘आङ खस्ने’ रोग सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपु¥याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी अवस्थामा गाह्रो भारी बोक्ने, राम्रो हेरचार नगर्ने कारणले देखा पर्छ । तराईका ग्रामीण क्षेत्र र पडाडी जिल्लाको ग्रामीण क्षेत्रका धेरै महिला यस्तै अवस्थाबाट गुज्रने गर्छन् । स्क्रिनिङ्ग गरेर आएका ३५ वर्षदेखि ८५ वर्ष उमेरसम्मका महिलाको शल्यक्रिया गरिएको छ ।
पाठेघर तीन डिग्री खसेको महिलाहरुको शल्यक्रिया गरिनुपर्ने स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रेरणा दाहालले बताइन् । गर्भवती अवस्थामा आराम नगर्ने, प्रसूतिपछि उचित स्याहार तथा आराम नगर्ने, कडा परिश्रम गर्ने, गह्रौं भारी बोक्ने र धुम्रपानलगायतका कारण पाठेघर खस्ने डा. दाहालको भनाइ छ । दुर्गम क्षेत्रका महिला योे समस्याबाट धेरै पीडित रहेको उनले बताइन् । ‘पीडित महिला पति, सासु, ससुराको डर तथा छिमेकीको लाजले यति ठूलो समस्यालाई लुकाएर बस्दै आएको पाइएको छ । आफ्नो समस्या पतिलाई समेत व्यक्त गर्न नसक्ने कस्तो लाज, डर होला ?’, डा. दाहालले भनिन् ।
पाठेघर खस्ने समस्याका तीन चरणमध्ये पहिलो अभ्यास गर्ने, दोस्रो रिङ प्रेसरी राख्ने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनले बताइन् । अंग बाहिर निस्केपछि फोहोर तथा घर्षणले फुल्न गई संक्रमण हुँदा शल्यक्रिया गर्नुपर्ने बाध्यता सिर्जना हुने उनले बताइन् ।