काठमाडौं—सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई मानित विश्वविद्यालयका रुपमा विकास गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई मानित विश्वविद्यालय बनाउने कानुन तर्जुमा गर्ने निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता एवं संचार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माले मंगलबारको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठानलाई विश्वविद्यालयका रुपमा विकास गर्ने निर्णय गरेको जानकारी दिइन् ।
‘शिक्षा तथा प्रविधी मन्त्रालयको प्रस्तावमा तिलगंगा आँखा प्रतिष्ठानलाई मानित विश्वविद्यालय बनाउने सम्बन्धि विधेयक तर्जुमा गर्न स्वीकृत दिने निर्णय भएको छ,’ शर्माले भनिन् ।
७ जुन १९९४ मा तत्कालीन राजा वीरेन्द्र शाह र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई एउटै मञ्चमा राखेर तिलगंगाको स्थापना भएको थियो । अहिले तिलगंगाको विश्वस्तरीय सफलता पाइरहेको छ । तिलगंगाले उत्पादन गर्ने लेन्स बेलायतको एसजीएस कम्पनीबाट आइओएस सर्टिफाइड छ । ‘आइओएल’मा बेलायतबाट आइओएस मार्क पाउने तिलगंगा दक्षिण एसियाकै तेस्रो हो ।
सबै बस्तुहरुमा परनिर्भर बनिरहेको नेपालजस्तो तेस्रो विश्वको गरिब देशबाट ४० लाख लेन्स बेलायत, अमेरिका, क्यानडालगायतका पहिलो विश्वका मुलुकका नागरिकलाई उज्यालो संसार दिन सहयोगी भइरहेका छन् । १९९७ बाट लेन्स उत्पादन थालेको तिलगंगाले यो बीचमा ४२ लाख बढी लेन्स उत्पादन गरिसकेको छ । सुरुमा दैनिक १५ सय उत्पादन हुँदैं आएको अहिले त्यो बढेर १८ सय पुगेको छ ।
आइ बैंक तिलगंगाको अर्को सफल कार्यक्रम भनेको नानी प्रत्यारोपण पनि हो । यसका साथै तिलगंगाले आँखातर्फको चिकित्सा शिक्षाका कार्यक्रम पनि संचालन गरिरहेको छ । उपचारका हिसाबले पनि तिलगंगा मुलुककै प्रतिष्ठित आँखा केन्द्रका रुपमा चिनिन्छ ।
यो पनि पढ्नुस्