२०८१ कात्तिक ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १राईले कोशीमा पाए नयाँ जीवन, मतिष्कमा जमेको रगत शल्यक्रिया गरेर निकालियो

राईले कोशीमा पाए नयाँ जीवन, मतिष्कमा जमेको रगत शल्यक्रिया गरेर निकालियो


विराटनगर—खोटाङको जन्तेढुङगा गाउँपालिका–६ का ६९ वर्षीया प्रताव सिंह राई रूखबाट लडेर तीन महिना अगाडि टाउको चोट लागेको थियो । उनले स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि घरमै बसे । भित्री चोट लागेकोले उनलाई विस्तारै बिरामीले च्याप्दै गयो । पछि हात, खुट्टा चल्न छोडेर एक ठाउँबाट अर्को ठाउँसम्म जान नसक्ने भएर राई ओछ्यानमा थला परे ।

आर्थिक अवस्था पनि नाजुक भएकाले परिवारको सल्लाहअनुसार सरकारी हस्पिटलमा उपचार गर्न लैजाने निधो गरे । सोहीअनुसार परिवारका सदस्यले राईलाई विराटनगरस्थित कोशी हस्पिटलको न्यूरोको ओपीडिमा १८ वैशाखमा लिएर आए । न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवले बिरामीको सिटी स्क्यान गरेर हेरेपछि लडेर लागेको चोटको कारण मतिष्कमा पूरानो रगत जमेको देखियो ।

न्यूरो सर्जन डा. यादवको नेतृत्वको टिमले बिरामी राईको मतिष्कमा जमेको पूरानो रगत १९ वैशाखमा शल्यक्रिया गरेर सफल उपचार गरेका छन् । ‘लामो समयदेखि मतिष्कमा रगत जमेको थियो । जमेको रगतलाई टाउकोमा सानो दूलो बनाएर बाहिर झिकियो । ‘यसलाई मेडिकल भाषामा ‘बरहोल इभाकोसन अफ सव’ भन्ने गरिन्छ,’ न्यूरो सर्जन डा. यादवले भने, ‘झण्डै दुई हप्ताको सफल उपचारपछि डिस्चार्जको तयारी गरिएको छ । अहिले बिरामी मज्जाले हिडडुल र बोल्न सक्ने भएका छन् ।’

यसरी मतिष्कमा जमेको रगत शल्यक्रियाको माध्यमबाट चाँडै झिक्नुपर्ने उनले बताए । ‘ढिलो भए बिरामीलाई असर पर्ने गर्दछ,’ उनले भने । राईको स्वास्थ्यमा सुधार आएपछि हस्पिटलले सोमबार डिस्चार्ज गरेको छ । डिस्चार्ज गर्नुभन्दा अगाडी संवाददाताहरुसँग कुराकानीमा आफूले नयाँ जीवन पाएको बताए ।

‘बाच्दिनँ जस्तो लागेको थियो । शौच पनि बसेकै ठाउँमा हुने गरेको थियो । एक ठाउँबाट अर्को ठाउँसम्म जान नसक्ने, एक पाटोको हात र खुट्टा पनि चल्दैन थियो । अब यतिकै थला परेर मर्ने भए भनेको मलाईलाई कोशी हस्पिटलका डाक्टरको टिमले पुनः जन्म दिएको छ,’ हर्षित मुद्रामा देखिएका राईले भने, ‘अहिले मज्जाले हिड्डुल गर्न सक्ने भएको छु । एक ठाउँबाट अर्को ठाउँसम्म कसैको साहारा बिना जान सक्ने भएको छु ।’ उपचारमा संलग्न डाक्टरप्रति उनी कृतज्ञ छन् ।

उपचारमा संलग्न न्यूरो सर्जन डा. चन्द्रप्रसाद यादव ।

कोशीको ओपीडिमा हप्ताको तीन दिन न्यूरो सर्जरीको सेवाहरु हुने गरेको छ । सोमबार, बुधबार र बिहीबार ओपीडिमा चिकत्सक यादव बस्ने गरेका छन् भने शल्यक्रिया हप्ताको दुई दिन हुने गरेको छ । शल्यक्रिया आइतबार र मंगलबार हुने गरेको अस्पतालले जनाएको छ ।

कोशी अस्पतालका निमिक्त मेसु डा रविराज सिंहले न्यूरो सर्जरीको सेवाहरु कोशीमा सफल उपचार भइरहेको बताए । सिमित दरबन्दीअनुसार चिकित्सकहरुले गुणस्तरीय सेवा प्रदान गरेको उनले बताए । २० वर्ष अगाडिदेखिको दरबन्दीअनुसार अहिले काम भइरहेको बताए ।

‘त्यो बेला बिरामीको चाप एकदमै कम थियो । त्यसबेलामा ओपीडीमा ५ देखि ६ सय बिरामी हुने गरेको थियो । अहिले दैनिक ओपीडिमा १५ सय देखि २ हजारसम्म बिरामी आउने गरेका छन्,’ मेसु डा. सिंहले भने, ‘पुरानो दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरुले काम गरिरहेका छन् । अहिले ओएनएम सर्वे भएको छ । यो सदर भएर आएपछि जनशक्ति थप हुनेछ । यसको लागि हामीले पहलकदमी गरिरहेका छौं ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ